भक्तपुरमा ढकालको ज्यान लिएर फरार रहेको अभियोगमा सुवाल पक्राउ

भक्तपुरमा गोपाल ढकालको ज्यान लिएर फरार रहेको अभियोगमा थप एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुरकाे चाँगुनारायण घर भएका २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तेह्रथुमकाे छथर गाउँपालिका-२ घर भई भक्तपुरको सूर्यविनायक ८ सिपाडोल बस्ने ३३ वर्षीय गोपाल ढकाल गत फागुन ११ गते सोही स्थानको एक कच्ची गोठमा परालले छोपेको अवस्था मृत फेला परेका थिए ।

मृतक ढकालकी श्रीमती रेणु ढकालले घरबाट फागुन ९ गते राति तेल किन्न निस्केका आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सुर्यविनायक जंगलमा २ लाख रुपैयाँ लिई आउनु भनी फोन आएको भनी प्रहरी वृत्त जगातीमा निवेदन दिएकी थिइन् । उनको खोजीमा निस्केको प्रहरीले फागुन ११ गते उनलाई मृत फेला पारेको थियो ।

यस घटनाको अनुसन्धान गर्दै जाँदा सुवाल उक्त घटनामा संलग्न भइ घटनापश्चात् फरार रहेको खुल्न आएकोले उनको खोजतलास गर्नेक्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा-६ बाट शनिबार मृतकको मोबाइलसहित पक्राउ गरिएको प्रहरीले जनाएको हो । उनीमाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त जगातीमा राखिएको बताइएको छ । हत्याको कारण भने प्रहरीले खुलाइसकेको छैन ।

Loading...