भक्तपुरमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २ युवक पक्राउ परेका छन् । शुक्रवार साँझ करिब सवा ४ बजेको समयमा भुवन खत्रीको घरमा कोठाको दराज फुटाई सुनका गरगहना चोरी गरी भाग्दै गरेका उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।

प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले चोरीमा संलग्न भएको भन्दै ओखलढुंगा घर भई हाल टेकु बस्ने बर्ष १९ को राजेश भुजेल र काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ६ बस्ने बर्ष १८ को समिर श्रेष्ठलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको डिएसपी बसन्त पाठकले बताएका छन् । 

पक्राउ परेका व्यक्तिहरुको साथबाट सुनको चुरा – ३ थान, सुनको चन्द्रमा – १ थान, सुनको औठी – १ थान, सुनको नेक्लेस – १ थान, सुनको कानमा लगाउने मुन्द्रा – १ थान, तिलहरी – १ थान, सुनको पुतली – १ थान, सुनको रानीहार – १ थान, चाँदीको पाउजु – १ जोर, नगद रकम रु. १,२६६।- (एक हजार दुई सय छैसठ्ठी) र ताल्चा फुटाउन प्रयोग गर्ने फलामको छिनो – १ थान बरामद गरिएको डिएसपी पाठकले जानकारी दिएका छन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Loading...