हरिवनका २० हजार बढी बालबालिकालाई दादुरा रुबेलाको खोप दिइने

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका भित्रका २० हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेलाको खोप दिइने भएको छ । नेपाल सरकारले लिएको राष्ट्रिय नीति अनुसार हरिवन नगरपालिकाले पनि आफ्ना बालबालिकालाई दादुरा रुबेलाको खोप दिन लागेको हो ।

शुक्रबार नगरस्तरीय स्वास्थ्य समन्वय समिति र संचारकर्मीबिच अभिमुखीकरण कार्यक्रम मार्फत नगरपालिकाले खोप संचालनबारे जानकारी गराएको छ । ९ महिना देखि १५ बर्ष सम्मका सबै बालबालिकालाई यही फागुन १६ देखि २२ गते सम्म खोप अभियान संचालन हुने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले कार्यक्रमको बारेमा जानकारी दिदै नगरपालिका भित्रका नियमित खोप कार्यक्रममा खोप लगाएका/नलगाएका प्रत्येक वडामा कम्तीमा ७ वटा खोप केन्द्रमार्फत ११ वटै वडामा २० हजार ३ सय ५३ बालबालिकालाई खोप प्रदान गर्न लागेको जानकारी गराए ।

कम्तिमा १ सय २५ बालबाकिका भएको १ खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई सहयोगि सहित तिन जनाको दरले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न लागेको र खोप कार्यक्रम निजि तथा सामुदायिक विद्यालय का साथै ११ वटै वडाका स्वास्थ्य संस्था मार्फत दिइन लागेको सासापुर स्वास्थ्यचौकीका इन्चार्ज मोहन घिसिङ्गले बताएका छन् ।

त्यस्तै खोप लगाएपछि केहिमा सामान्य असर देखा पर्ने भएपनि त्यसबाट कोहि पनि नआतिन र स्वास्थ्य संस्थामा सम्पर्क गरि उपचार गर्न सासापुर स्वास्थ्य चौकिका मेडिकल सुपरिटेन्डेन्ट कृष्मा प्रधानाङ्गले आग्रह गरेकी छन् । दीर्घरोगी, क्यान्सर, एच आई भि संक्रमित, क्षयरोग भएका तर कुनै औषधि उपचार नगरेका साथै गर्भवतिले खोप लगाउन नहुने उनले प्रष्ट पारेकी छन् ।

नगरपालिका स्वास्थ्य तथा सामाजिक बिकाश शाखाको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा सहभागीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका कार्यक्रम फोकल पर्सन रामदुलार यादवले कार्यक्रमको लक्ष्य र उदेश्यको बारेमा प्रकाश पारेका छन् ।

दादुरा रुबेला प्रभावित रोगीहरुमा रोगसंग लडने प्रतिरोधात्मक क्षमता समेत कमी आउने र दादुरा रुबेला लागेका एक ब्यक्ति बाट १८ जना सम्म सर्न सक्ने भएको हुदा रोगलाई निर्मुल पार्न सबैले अभियानमा थप डोज को बुष्टर खोप लगाउन पर्नेमा जोड दिइएको छ ।

नगर प्रमुख रमेश बुढाथोकि (कमल) को प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र सापकोटा, महिला तथा बाल बिकाश अधिकृत आशा खरेल र नगर कार्यपालिका सदस्य लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक सहित संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Loading...