प्रधानमन्त्री प्रचण्डलाई बागमती नगरपालिकाका ३ हजार विद्यार्थीले एकसाथ नृत्य देखाउने

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले फागुन १२ गते शनिवार बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव शुरु गर्ने भएको छ । उक्त महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने नगरपालिकाले जनाएको छ । महोत्सवमा नगरका ३ हजार विद्यार्थीले प्रधानमन्त्रीलाई एकसाथ नृत्य प्रदर्शन गर्ने भएका छन् ।

बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले मंगलवार पत्रकार सम्मेलन मार्फत महोत्सवको तयारी बारे बताउदै यसको महत्व माथि प्रकाश पारेका छन् । नगरपालिका भित्रको सामुदायिक विद्यालयको शैक्षिक अबस्था सवल बनेसंगै अतिरिक्त क्रियाकलापमा समेत नगरपालिकाले ल्याएको परिवर्तनका बारेमा नगरवासी र देशवासीलाई जानकारी गराउने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको नगर प्रमुख थापाले पत्रकार सम्मेलनमा प्रष्ट पारे ।

बागमती-११ स्थित सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा नगरपालिका भित्रका बिभिन्न सामुदायिक विद्यालयबाट प्रतिनिधित्व गर्दै प्लेकार्ड सहित आएका बालबालिकाले सातवटै प्रदेशको भेषभुषा, भाषा र पहिचान झल्कने गरी गर्ने नृत्य महोत्सवको प्रमुख आकर्षण हुने उनले जानकारी गराएका छन् । एकै साथ ३ हजार बालबालिका सांस्कृतिक नृत्यमा संलग्न हुने उनको भनाइ छ ।

‘शिक्षा, स्वास्थ्य र रोजगार – प्राथमिकताको पहिलो आधार’ भन्ने मुल मन्त्रका साथ नगरपालिका अघि बढेको बताउदै नगरप्रमुख थापाले आफू निर्वाचित भएर आएपछि नगरपालिका मातहतमा रहेका सम्पूर्ण शिक्षक र कर्मचारीको बालबालिका सामुदायिक विद्यालयमै मै भर्ना गर्ने शिक्षा निति लिएको र त्यसमा ९९ प्रतिशत सफलता हासिल गरेको जिकिर गरेका छन् । पत्रकार सम्मेलनमा मेयर थापाले समुदायमा सामुदायिक विद्यालय प्रति विश्वास बढ्दै गैरहेको र विद्यार्थी भर्ना दरमा समेत वृद्धि भएको जानकारी गराएका छन् ।

महोत्सवमा बागमती नगरपालिकाले शैक्षिक उपलब्धी हासिल गर्न गरेका नमूना अभ्यासहरू सार्वजनिक गरिने समेत उनले खुलासा गरेका छन् । संघीय शिक्षा ऐन जारी हुन नसकेको अवस्थामा आफूहरुले स्थानीय शिक्षा ऐन मार्फत प्रसस्त प्रगती गरेको जिकिर गर्दै उनले बागमतीको सफलताले देशका अन्य पालिकाहरुलाई पनि शिक्षा सुधारका कार्यक्रम ल्याउन प्रेरित गर्ने बिश्वास व्यक्त गरेका छन् ।

मधेश प्रदेशकै गौरवको रुपमा रहेको भरत तालको परिकल्पना र निर्माणबाट पर्यटन क्षेत्रमा विशेष पहिचान बनाएका नगर प्रमुख भरत कुमार थापाको नेतृत्वमा राहेको नगरपालिकाले शिक्षाको क्षेत्रमा गरेका काम देखाउने अवसरका रुपमा महोत्सवलाई लिइएको शिक्षा शाखाका कर्मचारी ओमबहादुर कार्कीले जनाएका छन् । थापा नेकपा (माओवादी केन्द्र)बाट दोश्रो कार्यकालका लागि नगर प्रमुख निर्वाचित भएका हुन् । नगरपालिकामा माओवादी केन्द्रको बहुमत रहेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरी, शिक्षा शाखा प्रमुख मिनप्रसाद उपाध्याय, शैक्षिक अभियन्ता अभिषेक घिमिरे लगायत विभिन्न शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

नगरपालिका भित्र कुल २५ वटा सामुदायिक विद्यालयमा हाल ७ हजार ३ सय ५३ विद्यार्थी अध्ययनरत रहेका छन् ।

Bagmati Municipality Press Meet
Bagmati Municipality Press Meet
Loading...