हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य शुरु

सर्लाहीको हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य आज(सोमबार)बाट सुरु भएको छ । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बिरामीलाइ पुर्जा वितरण गरेर शिविरको उद्घाटन गरेका छन् ।

स्वास्थ्य कर्मीको टोलीले आज(सोमबार) नगरपालिकाका विभिन्न वडामा बिरामी चेक जाँच गर्ने र तत्कालै रिपोर्ट दिने गरि व्यवस्थापन गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिए । उनका अनुसार हरिवन नगरपालिका १ मा दुई सय आठ जनाले चेक जाँच गराएका र १६ जना शंकास्पद रहेका छन् ।

प्रति १ लाख जनसंख्यामा २ सय ३३ जनालाई क्षयरोगको संक्रमण हुन सक्ने विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले अनुमान गरेको छ । जस अनुसार हरिवन नगरपालिकाका विभिन्न वडाहरुमा गरी एक सय २१ जना क्षयरोगीको बिरामी हुनु पर्नेमा हालसम्म १ सय १९ जना पत्ता लागेको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख चौधरीले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वलाई सन् २०५० सम्ममा क्षयरोगमुक्त घोषणा गर्ने समेत लक्ष्य राखेको छ ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालय,प्रदेश जनस्वास्थ्य प्रयोगशाला र जनस्वास्थ्य कार्यालय सर्लाहीको सहकार्यमा समुदायमा रहेका स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको आयोजक हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Loading...