प्रधानमन्त्री प्रचण्डले सिंहावलोकन गर्ने, जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने उद्घोष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो एक वर्षे कार्यकालको सिंहावलोकन गर्ने भएका छन् । उनले गरिएका कामको सिंहालोकन गर्दै सरकार संचालनका नयाँ रणनीति र कार्ययोजना अघि बढाउने भएका हुन् ।

सोमबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १ वर्षको समीक्षा गरेर अर्को वर्षलाई थप उपलब्धीपूर्ण बनाउने बताए । आफूलाई घेराबन्दी भैरहेको भन्दै उनले जनताको पक्षमा काम गर्न आफूलाई कसैले रोक्न नसक्ने समेत उद्घोष गरे ।

उनले गठबन्धन पूरै समय जाने जिकिर पनि गरेका छन् । यसलाई तोड्न खोज्नेहरुको खेल सफल नहुने उनले स्पष्ट पारे । ‘अहिले गठबन्धन तोड्ने र सरकार ढाल्ने भनेर रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ । तर, त्यसबाट केही हुनेवाला छैन ।” उनले भने ।

प्रधानमन्त्री प्रचन्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउला भन्ने चिन्ताले सरकारमाथि अनावश्यक दबाब आइरहेको खुलासा गरेका छन् । त्यस्तै एनसेलको शेयर खरिद–बिक्री प्रकरणलाई सरकारसंग जोडेर प्रचार गरेको प्रति पनि उनले आपत्ति प्रकट गरे । नागरिकलाई सही र तथ्यपूर्ण सूचना दिनुपर्ने दायित्व पत्रकारको भएको उनको भनाइ छ ।

भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारको कदमले प्रतिक्रियाबादीहरु आत्तिएका र सरकार बिरुद्ध झुटो प्रचारमा उत्रिएका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पत्रकारले गलत समाचारको भण्डाफोर र सत्य लाई स्थापित गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रतिक्रियाबादीहरुको भ्रामक प्रचारलाई निस्तेज गरी जनतालाई सही सूचना दिने अभिभारा विशेषगरी प्रेस सेन्टरको काधमा आइपरेको उल्लेख गरेका छन् । ” जनयुद्धमा जनमुक्ति सेनाले बिचार र क्रान्तिको रक्षा गरेको थियो, अहिले पत्रकारले त्यो मोर्चा सम्हाल्नुपर्छ ।” उनले निर्देशन दिए ।

उक्त अवसरमा नेकपा(माओवादी केन्द्र)का प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले सरकारले रोजगारी सृजना र उत्पादन वृद्धिमा विशेष योजना ल्याउनुपर्ने आवश्यकता औल्याए । कोही पनि रोजगारीमा नरहेका परिवारको कम्तिमा एकजनालाई रोजगारी र उत्पादनमा जोड्न सरकारले योजना ल्याउनुपर्ने उनको सुझाव रहेको छ । प्रवक्ता सापकोटाले ह्दय देखि इमान्दार भएर सरकारले अहिले गरिरहेको कामलाई जनताले स्यावास दिइरहेको दावी गरे । ‘जनतासंग हाम्रो ह्दय जोडिएको छ, राष्ट्र निर्माणमा हाम्रो इमान्दार प्रयास उहाँहरुले देखिरहनु भएको छ ।” उनले भने ।

बैठकमा प्रेस सेन्टरका संस्थापक एवं सह इन्चार्ज महेश्वर दाहालले सेन्टरमा आवद्ध पत्रकारले देश हाक्न सक्ने दावी गरे । प्रेस सेन्टरको इतिहास स्मरण गर्दै उनले पार्टी र देश नै हाक्न सक्ने गरी नेतृत्व बिकास गर्दै जानुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा बसेको पदाधिकारी बैठक १३ बुंदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको उपाध्यक्ष निर्मल ज्ञवालीले जनाएका छन् । बैठकले बिधान सम्मेलन गर्ने समेत निर्णय गरेको बताइएको छ ।

Loading...