उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री पछि अन्य भेटघाट भने बन्द गरिएको बताइएको छ । उपचारमा संलग्न चिकिसकको सल्लाहमा अन्य भेटघाट बन्द गराइएको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराएका छन् । मन्त्री श्रेष्ठलाई तीन देखि पाँच दिनसम्म अस्पतालमा नै राख्नु पर्ने डाक्टरले बताएका गिरीले जनाएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि मंगलवार राती साढे ११ बजे मन्त्री श्रेष्ठलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारीमा भर्ना गरि उपचार भैरहेको छ । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेका छन् । मन्त्री श्रेष्ठका निजी चिकित्सक डा सुरज बज्राचार्यको सल्लाहमा हटअट्याक आउनु भन्दा पहिला नै उपचार भएको र मुटुको धमनीमा अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरिएको बताइएको छ ।

मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा (left Anterior Descending Coronary Artery) को एन्जिओप्लास्टी गरिएको र अहिले उनकाे स्वास्थ्य अबस्था सामान्य रहेको उनका स्वकीय सचिव बिजय गौतमले बताएका छन् ।

यस अघि गत कात्तिकमा चीन भ्रमणका क्रममा एक्कासी मन्त्री श्रेष्ठमा मुटुको समस्या देखिएपछि त्यहाँ उनको उपचार गरिएको थियो । चीनमा मन्त्री श्रेष्ठको left circumflex artery मा एन्जिओप्लास्टी गरिएको थियो ।

Loading...