देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

देशभरीका कारागारमा विपश्यना ध्यान शिविर संचालन हुने भएको छ। योग र ध्यानमा रुची राख्ने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि देशैभरीका कारागारमा कैदीबन्दीका लागि विपश्यना ध्यान शिविर संचालन हुने भएको हो ।

मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत नै देशैभरका कारागारमा विपश्यना ध्यान शिविर संचालन हुन लागेको मन्त्रीका प्रमुख स्वकीय सचिव विजय गौतमले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित गृह मन्त्रालयमा बसेको बैठकले शिविर संचालन गर्ने निर्णय गरेको गौतमले जानकारी गराए ।

केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर संचालन हुनेछ। र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०-७० जनाले योग्याभ्यास गर्नेछन्। पटकपटक शिविर संचालन गरी सबैलाई विपश्यना ध्यान-योग गराइने उनले जनाएका छन ।

Loading...