दशैँको अन्तिम दिन भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना

बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना गरेका छन् । राजाले कोजाग्रतमा पूजाअर्चना गर्ने प्रचलनलाई निरन्तरता दिंदै राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेलले शनिवार भक्तपुर आएर नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली भवानीको दर्शन र पूजाअर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेललाई बनमालाहरुले नवदुर्गाको दर्शन र पूजाआराधना गराएका थिए । उक्त अवसरमा राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको प्रसाद ग्रहण समेत गरे । राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेका हुन् । राष्ट्रपति पौडेललाई नवदुर्गाका मूल नाइके कृष्णकुमार बनमाला तथा सहायक नाइकेहरू भैलबहादुर र इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद प्रदान गरेका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन र नवदुर्गा नाचको अवलोकन पनि गरे ।

नवदुर्गाका देवगण, पूजारी र तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलेले दक्षिणासमेत प्रदान गरेका छन् । राष्ट्रपति पौडेलसंगै प्रथम महिला सविता पौडेल विशेष पूजामा सहभागी भएकी थिइन् ।

राष्ट्रपति पौडेललेको स्वागतमा भक्तपुरको मध्यपुर क्षेत्रका प्रदेश सांसद समेत रहेका बागमती प्रदेशका कृषि तथा पशुपंक्षी बिकास मन्त्री डा राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेशसभाका सांसदद्वय किरण थापा र सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ उपस्थित रहेका थिए भने मन्दिर क्षेत्र रहेको भक्तपुर नगरपालिकाका जनप्रतिनिधि भने सो अवसरमा उपस्थित देखिएनन ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरको प्रमुख खिमा वली र सुरक्षा निकायका प्रमुखहरु स्वागत समारोहमा सरिक रहेका थिए भने स्थानीयहरु उत्साहपूर्वक राष्ट्रपति पौडेलको स्वागतमा सहभागी भएका थिए ।

तस्बिर : रमेश गिरी/रासस

Loading...