भक्तपुरमा सवारी चालक अनुमती पत्र सम्बन्धी बिहानी सेवा शुरु

आकाश गजुरेल । भक्तपुर, १० बैशाख २०८० ।

सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था कार्यालयले सेवा शुरु गरेको हो ।

आइतवार बागमती प्रदेश सरकारका मुख्य सचिव मुकुन्द प्रसाद निरौलाले बिहानी सेवाको उद्घाटन गरेका हुन् । सवारी चालक अनुमती पत्रको लिखित परीक्षा सेवा बिहान ७ बजेबाटै संचालन गर्ने र अन्य पाँच प्रकारका सेवा बिहान ८:३० बजेबाट शुरु गर्ने गरी बिहानी सेवाको उद्घाटन गरिएको हो । मुख्य सचिव र कार्यालय प्रमुख शिवकुमार निरौलाले बिभिन्न सेवा लिन आएका पहिलो सेवाग्राही क्रमस: रोनिका मास्के, सृष्टि श्रेष्ठ, अनिस श्रेष्ठ र सरिष्मा गुभांजुलाई कार्यालयमा माला र टिकाले स्वागत गर्दै बिहानी सेवा शुभारम्भ भएको घोषणा गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले अतिरिक्त तलबसुविधा बिना नै बिहानी सेवा शुरु गरेकामा कार्यालय प्रमुख र कर्मचारीहरुको प्रशंसा गरे । आफूहरुको निर्देशन बिना नै स्व: स्फूर्त रुपले कार्यालय समय बढाएकोमा बधाई दिँदै मुख्य सचिव निरौलाले यसको सिको अरु कार्यालयले पनि गर्ने बिश्वास व्यक्त गरे । ”मातहतका कार्यालयले पनि मन्त्रालयलाई सिकाउन सक्ने कुरा सावित गरिदिनुभयो । उनले भने ।

उक्त अवसरमा कार्यालय प्रमुख शिवकुमार निरौलाले यातायात कार्यालय प्रति सेवाग्राहीको सकारात्मक भावना नभएको र बिना पैसा काम नहुने भ्रम कायम रहेको प्रति दुख व्यक्त गरेका थिए । कार्यालय प्रमुख निरौलाले बिहानी सेवाले कामको चापलाई घटाउने र घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता हट्ने जानकारी गराए । सेवाग्राहीलाई छिटोछरितो सेवा दिन तथा कार्यालय र राज्यप्रति सकारात्मक बनाउन आफूहरुले बिहानी सेवा शुरु गरेको उनले बताए । कार्यालयमा बिचौलियालाई निषेध गरिएको पनि उनले जानकारी गराए ।

बिहानी सेवा शुरु गर्ने भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालय(सवारी चालक अनुमती पत्र) प्रदेशमै पहिलो कार्यालय भएको छ । यसले आफूहरुलाई पनि सेवा समय बढाउँन दबाब र प्रेरणा प्राप्त भएको कार्यक्रममा उपस्थित यातायात व्यवस्था कार्यालय चावहिलका कार्यालय प्रमुख विष्णु प्रसाद भट्टराईले प्रतिक्रिया दिएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ ले सेवाग्राहीको सुविधाका लागि आफ्नो असुविधाको पर्वाह नगरी बिहानैबाट कार्यालयमा आएर सेवा गर्ने प्रतिवद्धता प्रशंसनीय रहेको प्रष्ट पारे । ‘सरकारी काम कहिले जाला घाम’ भनेर काममा आलटाल गर्ने आरोप लागेको कर्मचारीतन्त्रको लागि यस्ताखाले सुरुवातले जनविश्वास जागृत हुने उनले बताए । सचिव शुभचिन्तकले बिहानी सेवाको निरन्तरतामा जोड दिएका थिए ।

बिहानी सेवाका लागि १७ जना कर्मचारी व्यवस्थापन गरिएको कार्यालयका सूचना अधिकारी गोविन्दराज सिवाकोटीले जनाएका छन् । कारीब ४० जना कर्मचारी कार्यरत भक्तपुरको राधेराधेस्थित कार्यालयले नयाँ सवारी चालक अनुमती पत्रका लागि मात्र दैनिक ७ सय पचास सहित अन्य सेवामा गरी दैनिक करिब ३ हजार सेवाग्राहीलाई सेवा दिँदै आएको सिवाकोटीले जानकारी गराएका छन् । बिहानी सेवामा लिखित परीक्षा, नयाँ तथा वर्ग थप आवेदन, मेडिकल, राजश्व(नयाँ तथा वर्ग थप) त्यसैगरी राजश्व(पास तथा रिट्रायल) र लाइसेन्स वितरण सेवा समावेश गरिएको बताइएको छ ।

Loading...