भक्तपुरमै नपाइने पत्रिकामा भक्तपुरको सूचना जारी गर्दै आयुक्तको कार्यालय

भक्तपुर, २१ पुस २०७९ । उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका छन् । भक्तपुर बासीले थाहा पाउनुपर्ने टेन्डर सूचना भक्तपुरमै उपलब्ध नहुने पत्रिकामा सूचना जारी गर्दा सरोकारवाला नै छक्क परेका हुन् ।

जिल्ला आयुक्तको कार्यालय भक्तपुर बाट बुधवार प्रकाशित भएको सूचना हेर्न सबै पत्रिका पसल चहार्दा पनि पत्रिका पाउन नसकिएको भक्तपुर वडा नम्बर १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले बताए । आफ्नो वडाका लागि निर्माण सम्बन्धी टेन्डर सूचनाबारे जानकारी लिन खोज्दा पत्रिका नै नपाइएको उनले दुखेसो व्यक्त गरे । उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले बुधवार उक्त पत्रिकामा पहिलो सूचना प्रकाशित गरेको भने होइन, उक्त पत्रिकामा बारम्बार सूचना प्रकाशित गरी लाखौँ भुक्तानी समेत गरेको एक कर्मचारीले बताएका छन् । उनले दिएको जानकारी अनुसार कुन पत्रिकामा सूचना प्रकाशन गर्ने भन्ने कार्यालय प्रमुख र लेखाको तजबिजीमा निर्भर रहने गर्दछ ।

सूचना प्रकाशनमा जिल्ला आयुक्तको कार्यालय भक्तपुरको रोजाइमा पर्ने गरेको पत्रिकाको लागि भक्तपुरमा कोही वितरक  नभएको र भक्तपुरका पत्रिका पसलमा उक्त पत्रिका नपाइने पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ भक्तपुरका सचिव महेश थापा बताउँछन् । उपत्यका बिकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले भने सार्वजनिक खरिद ऐन अनुसार कार्यालयले राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना छपाएको जिकिर गर्दै कुनै सेटिङको कुरा नभएको बताएको छ । जिल्ला आयुक्त कृष्ण कुमार महर्जनले राष्ट्रिय स्तरको दैनिकमा सूचना छपाएको भन्दै कहाँ पाइन्छ, कहाँ पाइदैन त्यो आफ्नो सरोकारको विषय नभएको बताए ।

भक्तपुरमै ३ वटा दैनिक पत्रिका प्रकाशित हुने गर्दछन । त्यो बाहेक राजधानीबाट प्रकाशित हुने धेरै वटा दैनिक जिल्लामा सजिलै पाइन्छ । पत्रिका पसलमा सजिलै पाइने पत्रिकामा सूचना नदिएर आफ्नो तजबिजी देखाउनु टेण्डरमा हुने सेटिङ वा, छपाइमा हुने कमिसनको चक्कर भएको श्रोतको दावी छ । विज्ञापन एजेन्सीहरुको कमिसनको चक्करमा कर्मचारी पर्दा भक्तपुरबाट प्रकाशित हुने पत्रिकाले सूचना नपाउने गरेको प्रक्षेपण दैनिकका प्रकाशक विकल श्रेष्ठ बताउँछन । उनले भक्तपुरका कार्यालयहरुले भक्तपुरबाट प्रकाशित हुने पत्रिकालाई सूचनामा प्राथमिकता दिनुपर्ने बताएका छन् ।

Loading...