भक्तपुर । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गरेको आरोपमा भक्तपुरको दुवाकोटबाट एक व्यापारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा त्वयना किराना पसलका सञ्चालक रहेका छन् । । उनले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा बिक्री गरेको आरोप छ।
विशेष सूचनाका आधारमा प्रहरी प्रभाग दुवाकोटबाट प्रहरी नायब निरीक्षक खिलबहादुर दुलालको नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान उनलाई नियन्त्रणमा लिएको हो।
उनी उपर जिल्ला प्रहरी वृत्त थिमिमा थप अनुसन्धान भैरहेको वृत्तका प्रहरी निरीक्षक राजन थापाले बताए ।
उपभोक्ताले अनलाइन माध्यमबाट रकम भुक्तानी गरी ग्यास खरिद गरेलगत्तै ब्यापारीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। प्रहरीले पसलबाट तीन थान ग्यास सिलिन्डरसमेत बरामद गरेको बताइएको छ।
पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेका बेला केही व्यापारीले यही अवस्थाको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा महँगोमा ग्यास बिक्री गर्ने गरेको उपभोक्ताको गुनासो छ।
ग्यास अभावलाई अवसर बनाएर हुने कालोबजारी नियन्त्रण गर्न प्रहरीले बजार अनुगमन तथा निगरानी बढाउनुपर्ने सुशासन अभियन्ता प्रेमध्वज मोक्तान बताउँछन् ।







