हिजोआज पत्रकारितामा आकर्णण बढ्दो छ । खासगरी सुचनामा पहुँच पनि हुने र सबै क्षेत्रमा स्थापित हुन पनि सकिने भएकोले युवा पुस्ताको आकर्षण बढेको हुनसक्छ । श्रमजीवी पत्रकारहरुको छाता संगठनमा रहेका नाताले पत्रकारितामा बढिरहेको यो आकर्षणले एक हदसम्म खुसी तुल्याउँछ । आफुले अंगालेको पेशाप्रतिको ठुलो आकर्षण देखिदा खुसी लाग्नु स्वभाविकै हो । तर, अहिले देशमा अभ्यास भइरहेको पत्रकारिताबाट त्यति धेरै सन्तुष्ट हुन सकिने ठाउँ भने छैन । नेपाली पत्रकारितामा आमूल रुपान्तरणको जरुरी छ । आवाज विहीनहरुको आवाजका रुपमा पत्रकारितालाई चिनाइरहँदा हाम्रो अभ्यासको पत्रकारिता यसको विपरित गइरहेको देखिन्छ । हाम्रो पत्रकारिता बोल्नसक्ने र बोलिरहनेहरुका पछि घुमेको छ । त्यसैले एकचोटी राम्ररी पत्रकारिताको आधारभुत सिद्धान्तमै छलफल गर्नुपर्छ कि भन्ने अनुभुति भएको छ ।
सिद्धान्ततः पत्रकारिता कमजोरहरुको हतियार हो । जो बोल्न सक्दैनन् वा जसलाई सुनिदैन, जसका समस्या कहिल्यै राष्ट्रिय बहस बन्दैनन्, जसलाई राज्यले सम्वोधन गरिरहेको हुँदैन, ती नसुनिनेहरुका कुरा मिडियाले बोल्नुपर्दछ । त्यसका साथै सर्वसाधारणहरु, जो राज्य र पहुँचवालाहरुको गतिविधि थाहा पाइरहेका हुँदैनन् वा उनको पहुँच जहाँ हुँदैन, त्यहाँका सुचना वा तिनका बारेमा सही जानकारी पत्रकारिताले गराइरहन्छ र गराउनुपर्दछ । एउटा साधारण नागरिकले राज्यले के गरिरहेको छ भन्ने कुराको जानकारी मिडियाबाट नै थाहा पाउदछ । उसले आफ्नो अभिभावकत्व गर्ने राज्य न्यायिक छ वा छैन भन्ने कुरा मिडियाको त्यही खबरका आधारमा छुट्याउँछ । जनता र राज्यबीचको संवाद मिडियाले नै गराउँदछ । राज्यलाई हरेक पाइला पाइलामा खबरदारी गरिरहने र जनतालाई सचेत तथा सुसुचित बनाउने भूमिका मिडियाले खेल्छ, खेल्नुपर्छ ।
तर, अहिले हाम्रोमा भइरहेको पत्रकारिता अभ्यास यसभन्दा अलि भिन्न छ । केही हदसम्म माथि उल्लेखित भूमिका निर्वाह गरिएको भए पनि अधिकांशतः बोल्नेहरु अथवा आवाज भएकाहरुलाई नै मिडियाले पछ्याइरहेको छ । नेपालका प्रमुख छापा र विद्युतीय संचारमाध्यामहरुमा ५० प्रतिशतभन्दा बढी समाचार ‘भन्नुभयो’ र ‘गर्नुभयो’का हुन्छन् । भन्नुभयो र गर्नुभयोमा कहिले पनि सर्वसाधारण पर्दैनन् । केन्द्रमा ‘भन्नुभयो’ र ‘गर्नुभयो’ टाइपमा समाचार उत्पादन हुन्छन् भने मोफसलमा हिजोआज गैरसरकारी संस्थाले कुन ठाउँमा के कार्यक्रम गरे भन्ने समाचारहरु बढी उत्पादन भइरहेका छन् । हाम्रो अभ्यास केलाउँदा कि त बलियो नेता वा शक्ति सम्पन्नले समाचार लेखाउँछन् कि त दह्रो पैसा भएका संघ संस्थाले समाचार लेखाएको देखिन्छ । सर्वसाधारणको कुरा त परै छ, पैसा नभएका साना संघ, संस्था संगठनहरु, जसले तारे होटेलहरुमा कार्यक्रम गर्न सक्दैनन्, जसले शक्ति सम्पन्न नेताहरुलाई कार्यक्रममा अतिथि बनाउन सक्दैनन्, तिनका समाचार समेत मिडियामा नआउने स्थिति छ । यसैबाट भन्न सकिन्छ कि हाम्रा मिडिया आवाजविहीनको आवाज बनेका छन् या आवाज भएकाहरुका । सामाजिक महत्व र सामाजिक सुरक्षाका भन्दा राजनीतिकका समाचार बढि लेख्ने, त्यो राजनीतिमा पनि सानाका कुरा भन्दा ठुलाका कुरा लेखिने, त्यसमा पनि बढी कुन राजनीतिक दलभित्र के के विवाद बढी छ, कसले के के भन्छ भन्ने समाचार भनेका आधारमा बढी लेख्ने हो भने कसरी हाम्रो पत्रकारिताले जनताको आवाज बोक्न सक्ला ?
राजधानीबाट प्रकाशित÷प्रशारित प्रमुख मिडियामा मोफसलका समाचारले निकै कम स्थान पाउँछन । पाए पनि प्राथमिकतामा पारिएका हुँदैनन् । मिडिया संचालकहरु जुन समाचार बिक्छ, त्यो समाचार नछापी कहाँ अरु गर्न सकिन्छ भन्ने तर्क पनि कहिलेकाही गर्छन् । यो पनि सोच्नुपर्ने विषय हो । यसका सन्दर्भमा दुई वटा कुरा गर्नुपर्छ । पहिलो त माथि भनिएजस्तै मिडियाले आफ्नो खास दायित्व बोध गर्नैपर्छ । दोस्रो कुरा विषयवस्तुलाई प्रभावकारी ढंगले उठान गर्ने र पठनीय बनाउने कलात्मक शिल्पी पत्रकारहरुमा हुन जरुरी हुन्छ । मोफसलका साना साना कुरालाई पनि कलात्मक प्रस्तुति शैली भयो भने राम्ररी स्थापित गर्न सकिन्छ । हाम्रो समस्या भनेको उही परम्परागत समाचार लेखन शैली हो । ‘फाइभ डब्लु वान एच’ भन्यो, त्यसैको रीत पु¥याएर सामान्य टिपोट जस्तो गरी समाचार लेख्ने वानी हाम्रो छ । जसका कारण हामी समाचारको मुल्य बढाउन सक्दैनौं । समाचारको मुल्य कति गह्रौं बनाउने भन्ने हात सबैभन्दा बढी लेखककै हुन्छ । उसले कस्तो शैलीमा समाचार लेख्छ, के कति सुचनाहरु समाचारमा घुसाउँछ, त्यसका लागि के कति स्रोत प्रयोग गर्छ त्यसकै आधारमा समाचारको मुल्य निर्धारण हुन्छ ।
लेखन हाम्रो पेशा हो भने लेखन शिल्पीको अभ्यास हामी किन नगर्ने ? हाम्रो अल्छीपनाले कतै हामीले प्रतिनिधित्व गर्ने क्षेत्रको समाचारले राम्रो स्थान नपाएको पो हो कि भन्ने घोत्लिनै पर्ने भएको छ । व्यवसायिक दक्षता व्यवहारिक अभ्यासबाट नै बढी आर्जन हुन्छ । जुन समाचार लेख्यो त्यो समाचार बिकाउ बनाउने लेखन शैली वा प्रस्तुति शैली बनाइयो भने मिडिया हाउसले त्यसलाई राम्रो स्थान नदिएर धरै पाउँदैनन् । मोफसलले राष्ट्रिय स्तरका मिडियामा ठाउँ नपाउने अर्को कारण भनेको मिडिया हाउसहरुबीचको अस्वभाविक प्रतिस्पर्धा हो । एउटाले कुनै विशेष समाचार दियो भने अर्कोले त्यो समाचार दिनैपर्ने बुझाई हाम्रोमा छ । कुनै प्रभावशाली नेताका पछि कुनै एउटा मिडिया कुदेको देखियो भने तत्काल अरु मिडियाहरु पनि कुदिहाल्छन् । भारतीय टेलिभिजनहरुमा देखिने यस्तो प्रतिस्पर्धा नेपालमा पनि उत्तिकै छ । साना पत्रिकाहरुमा मात्र होइन, ठुला भनिएका ब्रोडसिट दैनिक पत्रिकाहरुमा समेत अधिकांश समाचारहरु एकै प्रकृतिका हुन्छन् । प्रायजसो सबै दैनिक पत्रिकाका ब्यानर समाचारहरु मिल्छन् । यो हाम्रो परनिर्भर चेतको उपज हो । प्रत्येक भाषणपिच्छे फरक फरक तथा अन्तरविरोधी कुरा गर्ने नेताको भाषण दैनिकजसो छाप्न तयार हुने तर राष्ट्रिय महत्वका मोफसलको विकासका समाचार, झुपडीका समस्याहरु स्थान नै नदिने प्रवृति तत्काल अन्त्य गर्नुपर्छ । देशको यो अवस्था निम्त्याउनमा जसको हात रहेको छ, फेरि तिनैलाई बढीभन्दा बढी स्थान दिने हो भने हामी पनि जानी नजानी उसकै पिछलग्गु बनेका हुन्छौं ।
विश्व पत्रकारितामा पछिल्लो समय मिडियामा सम्पादकीय स्वतन्त्रता हराउँदै गएको बहस भइरहेको छ । ‘कर्पोरेट इन्ट्रेस्ट’ सम्पादकमा हावी भएको मात्र होइन, मिडिया हाउसहरुमा सम्पादक नराखेर प्रबन्ध सम्पादक नै प्रमुख बनाएर राख्ने क्रम बढेको बहस पनि छ । कर्पोरेट मिडिया हाउसमा नियुक्त हुने सम्पादकले आफु आवद्ध भएको मिडियाको व्यापार फस्टाउने खालका समाचार बढी उत्पादन गर्छ वा स्वतन्त्र भएर देश र समाजका विषयवस्तुलाई बढी उठान गर्छ भन्ने प्रश्न पनि बहसमै छ । तर, नेपालको पत्रकारितामा सम्पादकीय स्वतन्त्रता खोज्ने बहस त परै छ, अति न्युनतम पारिश्रमिक र नियुक्ति पत्रका समस्यामा अल्झेको छ । हामी अहिले सम्पादकीय स्वतन्त्रतालाई कम, पत्रकारहरुको पेशागत सुरक्षाको ग्यारेन्टी बढी खोजिरहेका छौं । पत्रकारहरुलाई नियुक्ति पत्र दिलाउने, न्युनतम पारिश्रमिक दिलाउने र उनीहरुको क्षमता अभिवृद्धि गर्नेमा बढी केन्द्रित छौं । यसबाटै बुझ्न सकिन्छ कि हाम्रो पत्रकारिताको स्तर कति छ भन्ने कुरा । पत्रकारितामा ढुक्कसँग जमेर आफ्नो जीवन धान्न सक्ने स्थिति हाम्रोमा विकास भएको छैन । बाध्यताले पेशामा रहिरहनुपरेको छ ।
अहिले राष्ट्रिय स्तरका अधिकांश मिडियामा जिल्लाबाट रिपोर्टिङ गर्ने पत्रकारहरु स्ट्रिन्जर छन् । तिनले समाचार लेखे मात्र पारिश्रमिक पाउने सम्झौता गरेका हुन्छन । तर, पारिश्रमिक भने कहिले पनि पाउँदैनन् । राष्ट्रिय स्तरका मिडियाका जिल्लाका रिपोर्टरहरुले औषतमा मासिक दुई हजार भन्दा बढी पारिश्रमिक पाउँदैनन् । त्यो पनि ६ महिनामा एकचोटी लिन्छन् । सुदुर गाउँबाट राजधानीमा त्यो पारिश्रमिक लिन आउँदा पाउने पैसा भन्दा बढी तिर्नुपर्छ । त्यसैले नेपालका अधिकांश पत्रकारहरुको प्रमुख पेशा पत्रकारिता छैन । पत्रकारितामा पुर्णकालीन भएर बाँच्नेहरुको संख्या निकै कम छ । यो निकै ठुलो समस्या हो ।
हामीले अब राम्रो पत्रकारिता र क्षमतावान पत्रकार लेखकहरुको विकास गर्न ध्यान दिनैपर्दछ । हाम्रा पत्रकारहरुको लेखनशैली वा प्रस्तुति शैलीलाई विकास गर्न ध्यान दिनैपर्दछ । पत्रकारहरुको व्यवसायिक दक्षता राम्रो भएन भने मिडिया हाउस पनि फस्टाउन सक्दैन । संख्यात्मक फड्कोलाई गुणात्मक फड्कोमा रुपान्तरण गर्नैपर्दछ । त्यसका लागि नेपालको पत्रकारिताको श्रम अभ्यास, श्रमजीवी पत्रकारहरुको खास अवस्थाको गहिरो अध्ययन गर्नैपर्दछ । मिडिया हाउसभित्रको श्रम अभ्यासलाई नसुधारेर हाम्रो पत्रकारिता राम्रो बन्न सक्दैन । समाचार छनौटको हाम्रो सोचाई, बुझाई वा प्रवृतिमा आमूल परिवर्तन गर्नैपर्दछ ।