कोरोना विरुद्ध काँग्रेसले पुकार्यो दैवी शक्ति

भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित उनीहरुले पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरेका हुन् ।

जिल्लाका सबै वडामा पूजाअर्चना र दिप प्रज्वलनको कार्यक्रम सम्पन्न गरिएको नेपाली काँग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले जनाएका छन् । शनिवार बिहान ७ बजे सम्बन्धित वडाको पायक पर्ने मन्दिरमा गई पूजा अर्चना र दिप प्रज्वलन गरी कोभिड बिरुद्ध दैवी शक्तिका लागि प्रार्थना गरिएको हो ।

पार्टीका जिल्ला नेताहरु, जनप्रतिनिधि र स्थानीय नेताहरुको नेतृत्वमा नजिकको मन्दिरमा गई काँग्रेस कार्यकर्ताले पूजा आराधना र दिप प्रज्वलन गरेका हुन् । उक्त अवसरमा कार्यकर्ताहरु उत्साहित देखिएका र धार्मिक विश्वासलाई कोरोना बिरुद्धको शक्ति आर्जन गर्ने माध्यम बनाएका नेपाल पत्रकार महासंघ, भक्तपुरका अध्यक्ष समेत रहेका पत्रकार जगत प्रजापतिले जनाएका छन् ।

नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सुभेक्षाका लागि आम पार्टी पंतिप्रति आभार प्रकट गरेका छन् । आफ्नो कोभिड रिपोर्ट नेगेटिभ आइसकेको र आफू अस्पतालबाट डिस्चार्ज भै घरमै स्वास्थ्य लाभ गरिरहेको भन्दै उनले पार्टीका कार्यकर्ता, भक्तपुरबासी र आम संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

Loading...