बाल यौन दुराचारको आरोपमा भक्तपुरमा २ शिक्षक पक्राउ

आकाश गजुरेल । भक्तपुर, २१ जेष्ठ २०७८ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् ।

उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन दुराचार गरेको अभियोग लागेको छ । गत मङ्सिरको घटनाको पोल खुलेपछि शिक्षक कोजु पक्राउ परेका प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले गत बुधवार पिडित बालिकाको आमाले दिएको उजुरीको आधारमा शिक्षक कोजुलाई पक्राउ गरिएको जानकारी दिए । आरोपित शिक्षक कोजुले गत मङ्सिर १६ गते भोज खान भनी आफ्नो घरमा बोलाई सोही दिन १ बजेको समयमा नाबालिकाको संवेदनशिल अंगमा समाति बालयौन दुराचार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी उनी बालिकालाई बाल यौन दुराचार गरेको आरोपमा अर्का तेक्वान्दो गुरु पनि पक्राउ परेका छन् । पक्राउ पर्ने तेक्वाण्दो गुरु चुलाई मुखिया हुन् । गत चैत १ गते बिहान तेक्वाण्दो खेल खेल्न गएको अवस्थामा तेक्वाण्दो गुरुले पनि अन्दाजी ०६:३० बजेको समयमा बालिकालाई सल्लाघारी स्थित एकान्त स्थानमा बोलाई संवेदनशिल अंगमा समाति बाल यौन दुराचार गरेको आरोप लागेको छ ।

बालिकालाई राम्रोसंग गेम सिकाई दिन्छु भनी उनले एक्लै पारी यौन दुराचार गरेको उजुरीमा उल्लेख छ । मुखिया सिर्जनानगरमा बसोबास गरी बिगत लामो समयदेखि तेक्वान्दो खेल खेलाउदै आएका प्रशिक्षक हुन् ।

गत बुधवार महानगरीय प्रहरी वृत्त जगातीमा बाल यौन दुराचारको उजुरी परेको वृत्त प्रमुख डिएसपी राजेश थापाले पुष्टि गरेका छन् । बालिकाको आमाले उजुरी दिएपछि आरोपित दुबैजनालाई पक्राउ गरी वृत्तमा अनुसन्धानको लागि राखिएको उनले बताए । पिडित बालिकाले हदै भएपछि आफूमाथिको यौन दुर्व्यवहार आमालाई बताएकी र उक्त अपराध बाहिर आएको बताइएको छ । पक्राउ परेका कोजु र मुखियामाथि छुट्टा छुट्टै आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरीको भनाइ छ ।

Loading...