जसपा फुटाएर ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन, आफ्ना ९ मन्त्रीलाई विदा दिएर १७ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकार कामचलाउ भए पनि ओलीले आफ्ना नजिकका ९ मन्त्रीलाई हटाएर भए पनि जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रीपरिषद पुनर्गठन गरेका हुन् । यससँगै कामचलाउ सरकारको मन्त्रिपरिषद १७ सदस्यीय भएको छ ।

ओलीले नयाँ मन्त्रिपरिषदमा तीन जनालाई उपप्रधानमन्त्री बनाएका छन् । तीन जना उपप्रधानमन्त्रीमा आफ्नै पार्टीका दुई जना नेता र एक जना जसपाबाट राजेन्द्र महतो रहेका छन् । ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् भने एमालेका नेता रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्री बनाएका छन् । उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी ओलीले दिएका छन् ।

नयाँ मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् । बाहिरिने अन्य मन्त्रीहरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो रहेका छन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री नवराज राउत, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

ओलीले मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिएका छन् ।

प्रधानमन्त्री ओलीले गृह र रक्षा मन्त्रालयको जिम्मेवारी भने आफै सम्हालेका छन् । यसअघि सर्वोच्चको आदेशले गृहमन्त्री रामबहादुर थापा बादलसहित प्रचण्डको साथ छाडेर ओलीको पक्षमा लागेका मन्त्रीहरु पदम मुक्त भएका थिए ।

Loading...