रातभर ठूलाे पानी परेपछि सप्तरीका १५ सय परिवार डुबानमा

सप्तरी, १८ असार । गएरातीदेखि परेकाे ठूलाे वर्षाका कारण सप्तरीका १५ सय घरपरिवार डुबानमा परेका छन् । वर्षाका कारण बाढी गाउँमा पसेर अाधा दर्जन गाउँ नै डुबानमा परेपछि त्यहाँका बासिन्दाहरु विस्थापित बनेका छन् ।

वर्षाका कारण सप्तरीका खाडो, त्रियुगा, जीता लगायतका नदीमा ठूलाे बाढी अाएकाे छ । ती नदीमा अाएकाे बाढीले नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा पारेकाे छ ।

बाढीबाट राजविराज नगरपालिकाको वडा नं ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा मलहनिया, मधवापुर भारदह, पोर्ताहालगायतका गाउँ डुबानमा परेका छन्। गाउँमा बाढी पसेकाले तीन फिटसम्म पानी जमेको छ।

अकस्मात्को बाढीले आधा दर्जन फुसको संरचना भएका घर भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, भाँडाकँडा र अन्य सरसामान बगाएको राजविराज नगरपालिका वडा नं १० डुमरी गाउँका पर्शुराम यादवले बताए।

उक्त वडाका डेढसय परिवार बाढीको उच्च जोखिममा छन्। एक्कासी आएको बाढीले मलेठस्थित मो यासिनको कुखुरा फार्ममा रहेका एकहजार २०० कुखुरा र अन्नपात बगाएर लगेको पीडितले बताए।

मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रपनि जलमग्न हुँदा ठप्प भएको छ। बाढी औद्योगिक क्षेत्रभित्र पस्दा २० मिटर लामो पर्खाल भत्काउनुका साथै उद्योगभित्र पानी पस्दा ठूलो क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्।

यस्तै, रुपनी गाउँपालिका– २ मा बाढी पस्दा १०० घर डुबानमा परेका छन्। स्थानीयको खेतबारी बगाउनुका साथै पानी बस्तीमा छिरेकाले सुरक्षित स्थानको खोजीमा जुटेको स्थानीयवासी दिनेश यादवले बताए।

गत वर्ष गाउँमा पसेको बाढीले गरेको क्षति नबिर्सँदै फेरि यो वर्ष पनि बाढीले दुःख दिन थालेको उहाँको भनाइ छ। त्रासका कारण स्थानीयले अन्नपात गाईगोरु लिएर सुरक्षित स्थानतर्फ जान थालेको जानकारी पनि दिए। बाढीले सडक कटान गर्दा राजविराज–कुनौली सडकखण्ड अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बाढीले जिल्लाका एकहजार ५०० परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको बताए। उनले बाढीबाट जोगाउन ठाउँठाउँमा अस्थायी बाँध बनाउने काममा प्रहरी खटिएको जानकारी दिए।

उनी आफैँ पनि आज बिहानैदेखि बाढी प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई सुरक्षित स्थानमा सार्ने काममा व्यस्त देखिन्थे। उनले स्रोतसाधनले भ्याएसम्म बाढीबाट हुने सम्भावित क्षति रोक्न आवश्यक सबै पहल थालिएको जनाए।

यसैबीच, जिल्लाको लौनियाँमा खोलाले बगाएर ल्याएको एक पुरुषको मृत शरीर प्रहरीले फेला पारेको छ। पहिचान खुल्न नसकेको मृतकबारे आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक द्विवेदीले जानकारी दिए। सडेगलेको अवस्थामा फेला परेको उक्त शव हत्या हो वा प्राकृतिक दुर्घटना हो भन्ने विषयमा प्रहरीले अनुसन्धानलाई केन्द्रित गरिरहेको उनले बताए।

यता, जिल्लाको रुपनी गाउँपालिकाका बासिन्दाले यथाशीघ्र आफूहरुलाई सुरक्षित र भयमुक्त वातावरण बनाउन प्रशासनसँग माग गर्दै रुपनी–राजविराज सडकखण्ड अवरुद्ध पारेका छन् ।

वर्षायाममा प्रत्येक वर्ष बाढीका कारण ठूलो क्षति ब्यहोर्नुपर्दा पनि प्रशासनले दीर्घकालीन समाधान खोज्न नसकेकाले विरोधस्वरुप चक्काजाम गरिएको स्थानीयको भनाइ छ ।

Loading...