वरिष्ठ लोकगायक सापकोटा सम्मानित

काभ्रे, १८ असार । लामो समयदेखि लोकगायनका क्षेत्रमा योगदान दिँदै आभएका वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा सम्मानित भएका छन् ।

जुनकिरी साहित्य समाजको १५औँ वार्षिकोत्सवका अवसरमा सापकोटालाई काभ्रेपलाञ्चोकको बनेपामा साहित्यकार तथा पत्रकार डा नवराज लम्सालले शनिबार सम्मान गरे । सो अवसरमा लामो समयदेखि जुनकिरी साहित्यिक प्रतिष्ठानमा क्रियाशील यदुनाथ गौतमलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सापकोटाले सो सम्मान आफ्नो लागि सबैभन्दा विशिष्ट र अविष्मरणीय रहने बताउँदै भने, “मेरो लोकगायनप्रतिको निरन्तरताले नै मलाई यो सम्मान मिलेको हो ।” उनले युवा पुस्तालाई पनि आफ्नो काममा निरन्तरता दिन आग्रह गरे ।

डा लम्सालले साहित्य सधैँ समाजलाई नयाँ दिशामा लैजाने खालको हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपालकै पहिलो साहित्यिक धावक मानिने लक्ष्मण सापकोटाले यही असार २८ गते भानु जयन्तीका अवसरमा आफूले भानुभक्तकै पहिरनमा भानु साहित्यिक दौड दौडने जानकारी दिए ।

कार्यक्रममा छवि श्रेष्ठ, निराजन तरङ्ग, अनिश घिमिरे, चण्डिका वाग्ले, ज्ञानु रोका, इन्द्र गौतमलगायतले कविता वाचन गरेका थिए ।

Loading...