वर्षाले जनजीवन अस्तव्यस्त

जलेश्वर, १२ असोज । महोत्तरीमा सात दिनदेखि लगातार वर्षा हुँदै आएको छ । बिहान, बेलुका वा राति कुनै पनि समयमा नरोकी अविरलरुपमा जिल्लामा वर्षा भइरहेको हुनाले यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

दैनिक अविरलरुपमा पानी पर्दा लाखौँ मूल्यका तरकारीबाली नष्ट हुनाका साथै धानखेतीलाई पनि अत्यधिक पानी भएपछि नोक्सानी भइरहेको किसान बताउँछन् । त्यस्तै पानी पर्दा जिल्लाका विभिन्न गाउँ ठाउँमा अहिले भइरहेको विकास निर्माणका कामकाज प्रभावित बनेको छ भने दिनहुँको वर्षाले विभिन्न गाउँठाउँ डुबानमा पर्ने अवस्थासमेत आएको छ ।

जिल्लाको रातो, मरहा, अंकुशी, विग्ही, जङ्घालगायतका सबै नदी पानीले भरिएका छन् भने कुनै पनि बेला बाढी आएर गाउँघरमा पस्ने सम्भावना बढेको छ । दैनिकरुपमा परेको पानीले जिल्ला सदरमुकाममा अवस्थित कारागार, जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला अदातललगायत विभिन्न सरकारी कार्यालय र बजार क्षेत्र जलमग्न भएको छ ।

यसैगरी जिल्लाका प्रमुख सडकखण्ड जलेश्वर जनकपुर, जलेश्वर बर्दिबास, जलेश्वर भिठ्ठामोड, जलेश्वर मटिहानी, जलेश्वर सम्सीको धेरैजसो भागमा कुनै पनि बेला बाढी आएर सडक बगाउने तथा यातायात ठप्प हुने जोखिम बढेको छ । दैनिकजसो परेको पानीले जिल्लाका हाट बजार, गाउँ घर सबैलाई हिलैहिलो बनाएको छ भने यसबाट मानिस, पशुपक्षी, बालीनाली सबै प्रभावित भएका छन् ।

Loading...