भारतीय मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा एक जनाको मृत्यु, दुई पक्राउ

सर्लाही, ४ असोज । सदरमुकाम मलङ्गवामा शनिवार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मलङ्गवा–२ स्थित पब्लिक स्कूल माविको बाटो हुँदै गोरखकाली प्रहरी चौकी जाने सडकमा तीव्रगतिमा गुडिरहेको बिआर ३० यु ४११२ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मलङ्गवा नगरपालिका–३ का २४ वर्षीय अजय राउतको मृत्यु भएको हो । मोटरसाइकल चालक सोही ठाउँका ३१ वर्षीय राकेश पण्डित घाइते भएका छन् । राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक राकेश पण्डितको मलङ्गवा अस्पतालमा उपचार भइरहेको छ ।

हतियारसहित दुई जना पक्राउ

सर्लाही प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ मेजरगञ्ज का ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुर छन् । लालबन्दीबाट खटिएको प्रहरी टोलीले जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना ६ प २३९२ र बिआर ०६ एजे ०८०६ भारतीय नम्बरको मोटरसाइकल जाँच गर्दा दुबै जना एक थान कटुवा पेस्तोलसहित पक्राउ परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । प्रहरीले दुबै जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

Loading...