हनुमन्तेले बगाएका युवकको उद्धार : बस्तीमा पानी पस्यो

भक्तपुर, २७ असार । अविरल बर्षाको कारण भक्तपुरको हनुमन्ते खोलमा आएको बाढीले बगाएका एक व्यक्तिको उद्धार गरिएको छ । बालकोटस्थित हनुमन्ते खोलाको डिलबाट खसेर बेपत्ता बनेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको हो ।

शुक्रवार दिउसो सुर्यविनायक- २ बालकोट हनुमन्ते खोला किनारमा हिडिरहेका सन्तोष पहरी खोलामा खसेर बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीयको सहयोगमा उद्दार गर्न सकिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार काभ्रे कोशी पारी घर भई हाल बालकोटमा बस्दै आएका ३२ वर्षिय सन्तोष पहरीको उद्धार गरिएको हो ।

खोलामा खसेर बगाएको व्यक्तिलाई स्थानीयको सहयोगमा महानगरीय प्रहरी प्रभाग बालकोटको प्रहरी टोलीले खोलामा गम्भीर अवस्थामा फेला पारी उद्धार गरेको र उपचारको लागि गठ्ठाघरस्थित नागरीक अस्पताल पुर्याइएको प्रहरीले जानकारी गराएको छ ।

यसैबीच हनुमन्तेमा आएको बाढी बस्तीमा पस्न थालेको छ । भक्तपुर नगरपालिकाको राम मन्दिर, बाराहीस्थान,सृजनानगर त्यसैगरी सूर्यविनायकको बालकोट, चारदोबाटो तथा मध्यपुरथिमीको ठिमी राधेराधे, बिस्कुट कारखाना, तरकारी बजारलगायत क्षेत्र डुबानमा परेका छन् ।

स्थानीय प्रशासनले हनुमन्ते आसपासका बासिन्दालाई सतर्क अवस्थामा रहन आग्रह गरेको छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयंसेवकको टोलीलाई परिचालन गरिएको बताइएको छ ।

गत वर्षको वर्षामा हनुमन्तेले करोडौको क्षती गरेकोले हनुमन्ते करिडोर निर्माणको पहल गरेको बताएका सांसद महेश बस्नेतले हनुमन्ते करिडोर निर्माण रोकिँदा समस्या ज्यूँका त्यूँ भएको बताए । यद्यपी आफ्नो पहलमा २० लाख रुपैयाको विपद् व्यवस्थापन एवं उद्धार सामग्रीहरु खरीद गरेर उद्धारको तयारीमा राखिएको हुनाले क्षती न्यूनीकरण गरिने उनको जिकिर छ ।

हनुमन्ते प्रभावित तीनवटै नगरपालिका भक्तपुर नगरपालिका, सुर्यविनायक नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाका जनप्रनितिधिहरुले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै आवश्यक समन्वय गरिरहेको बताएका छन् ।

Loading...