पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, पूर्व जाने आउने सवारी ठप्प

सिन्धुली, २७ असार । सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीकाे गोलन्जोर र सुनकोशी गाउँपालिकामा बाटाे अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

त्यसैगरी सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण अवरुद्ध भएकाे राजमार्ग अहिले पहिरो पन्छाएर सुचारु गराउने तयारी भइरहेको छ ।

सडकमा खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए । बिहानको समय भएकाले अहिले थोरै सङ्ख्यामा मात्र सवारी जाममा परेका छन। आवश्यक समन्वय गरी डोजर ल्याएर पहिरो पन्छाउने तयारी भईरहेको उनले बताए ।

गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हुँने गरेकाे छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा यस क्षेत्रमा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने भएपछि धेरैले गुनासाे गर्ने गरेका छन् । 

राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् । सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।

Loading...