बाढीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध

रौतहट,२७ असार। लगातारको वर्षा पछि आएको बाढीले पूर्वपश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्का बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ। चन्द्रनिगाहपुरदेखि तीन किलोमिटर पश्चिम लच्कामा बाढी आएर राजमार्ग अवरुद्ध हुदा सयौ सवारी साधन रोकिएका छन् भने हजारौ यात्रु अलपत्र परेका छन्।

मनसुनको आगमन सगै परेको अविरल वर्षाका कारण बिहिबार रातिबाट नै सवारी साधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बताएको छ । राजमार्गको लच्कामा पानीको बहाव घटेको छैन। बाढीमा पसेका सवारी साधनलाई प्रहरीले उद्धार गरेको छ।

तीन दिनदेखि भएको अविरल वर्षाका कारण रौतहट जिल्लासहित अधिकांस जिल्लाको जनजीवन प्रभावित भएको छ। विभिन्न जिल्लाका बस्तिमा पानी पस्न थालेको र डुबानमा पार्ने खतरा बढेको छ।

बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा , गौर, गढौ लगाएतका बस्तीहरु डुवानको जोखिममा छन्। बागमती र लाल बकैया, चादी, लमाहा, झांझ नदिमा पानीको बहाव उच्च हुँदै गएको छ।

स्थानीय प्रशासनले नदी छेउका बासिन्दालाई अवस्था हेरी सुरक्षित स्थानमा जान आग्रह गरेको छ। नदीले बाँध कटान गरे सुरक्षा निकालाई खवर गर्न, तयारी खाना जस्तो(चिउरा, दाल्मोठ, चाउचाउ, बिस्कुट आदि छुट्टै प्याक गरी सुरक्षित स्थानमा राख्न, बालबालिकालाई अभिभावकको साथबिना बाहिर निस्कन नदिन पनि स्थानीयलाई आग्रह गरिएको छ।

Loading...