देशका सबै नदीको बहाब खतरामा, सतर्कता अपनाउन आग्रह

काठमाडौं २७ असार। बाढी पूर्वानुमान शाखाले देशका विभिन्न नदीहरूको बहाब खतरामा रहेको जनाएको छ । बाग्मती नदीको तराई क्षेत्रको बहाब रेड जोन खतरामा रहेको संकेत देखिएको छ । बाग्मतीको पधेरादोभान बाढी मापन केन्द्रमा ८ बजे जलसतह खतरा तह पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका तटीय क्षेत्रमा हुनेहरू बेलुकासम्म सुरक्षित स्थानमा रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको हो ।

त्यस्तै कमला र कन्काई नदीको बहाब सतर्कता तह नजिक रहेको सो क्रम बढ्दो रहेको जनाएको छ । कोसी नदीको बहाब पनि बढ्ने क्रम रहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ । प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाब सतर्कता माथि र उच्च खतरा रहेको बताइएको छ । भोलिसम्म नै बहाब खतरा नजिक रहने भएकाले सर्तकता अपनाउन आग्रह गरिएको छ ।

थप वर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलहरूले समेत जलप्रवाह उच्च हुने देखाएकोले नदीको तटिय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाऔ आग्रह गरिएकोछ ।

Loading...