भक्तपुर नगरपालिकाले छोटो दुरीका यातायात सन्चालन गर्ने

भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाले छोटो दुरीका यातायात सन्चालन गर्ने भएको छ । नगरपालिकाले कानुन नै बनाएर यातायात सन्चालनको तयारी गरेको हो ।

भक्तपुर नगर क्षेत्रमा छोटो दुरीको सवारी साधन नहुँदा स्थानीयले सास्ती भोग्नुपरेपछि नगरपालिकाले छोटो दुरीको हलुका सवारी साधन सन्चालन गर्न लागेको बताइएको छ ।

चालु पाँचौं नगरसभाबाट भक्तपुर नगरपालिकाको सवारी दर्ता तथा सन्चालन गर्न बनेको विधेयक – २०७६ पारीत भएपछि यातायात सन्चालनको लागि बाटो खुलेको नगर प्रमुख सुनिल प्रजापतिले बताए । भक्तपुर नगर र आसपासको क्षेत्रमा अब नगर यातायात सन्चालन हुने प्रजापतिले जानकारी गराए ।

भक्तपुर नगरपालिकाको सवारी दर्ता तथा संचालन गर्न बनेको विधेयक – २०७६ पारीत भएसंगै भक्तपुरका हलुका सवारी धनीले समेत नगरपालिकामै सवारी दर्ता गर्न पाउने भएका छन । हाल यातायात व्यवस्था बिभाग अन्तर्गतका सेवा कार्यालयहरुले उपलब्ध गराउदै आएका बिल बुक नवीकरण, रुट परमिट जस्ता कार्यहरु समेत अब नगरपालिकाले नै उपलब्ध गराउने भएको छ ।

हलुका सवारी साधनको दर्ता, नवीकरण, रुट परमिट लगायतका सेवा नगरपालिकाले दिने भएपछि स्वरोजगारमूलक यातायात व्यवसायलाई समेत टेवा पुग्ने नगरपालिकाको दावी छ । यसले नगरपालिका र आसपासका स्थानीयलाई यात्रामा सहज हुने विश्वास व्यक्त गरिएको छ ।

भक्तपुर नगरपालिले स्थानीय सरकार सन्चालन ऐन- २०७४ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको सवारी दर्ता तथा सन्चालन गर्न बनेको विधेयक – २०७६ बनाई नगर सभाबाट पारित गरी लागू गरिएको जनाएको छ ।

Loading...