बहसमा हामी समाजवाद उन्मुख गणतन्त्रात्मक मुलुकका नागरिक भनिन्छौ तर शासनको रुप र चरित्र हेर्दा भने क्लेप्टोक्रेसी अवस्थामा देखिन्छ । सुन्दर शब्दको नियति र सत्ताचरित्र नाप्ने औजार भनेको ह्वाँङह्वाङ्ती छ्याङ्छयाङ्ती देखिने सहजचेतले ठम्याउन सकिने परिणाम नै हुन् ।
विकीपिडिया अनुसार– डेमोक्रेसी, एरिष्टोक्रेसी, ब्यूरोक्रेसी भनेझै क्लेप्टोक्रेसी पनि एक शासन पद्धति हो । ग्रीक भाषामा kleptes भनेको Thief (चाेर) kratoseg भनेको Rule (शासन) हो । अर्थात ‘चोर वा चोरहरू’को शासन नै क्लेप्टोक्रेसी हो । एकजना वा एकजनाभन्दा बढी चोर वा फटाहाले मुलुकको स्रोत आफू, आफ्ना परिवार, आफ्ना जात, आफ्नो समूह वा दल वा गुटको निम्ति कानुन अनुसार र भ्रष्टाचार समेत गरी फाइदा उठाएर शोषण, दोहन गरेर वा लुटेर वा चोरेर वा छलेर राज्यको सबथोक आफ्नैझै बनाएर राज्य सन्चालन गरिने पद्धतिलाई नै क्लेप्टोक्रेसी भनिन्छ । यो प्रणाली राज्यको ढुकुटीमा रहेको मुलुकी स्रोत आफू खुसी र बदनियतपूर्वक हिनामिना गरेर आफुलाई जसरी पनि फाइदा हुने आर्थिक नीति र कानुन र ट्याक्स नीति बनाएर वा फेरबदल गरेर, जनतालाई दिने सेवासुविधा भित्रभित्र बेचीखाई दुरुस्त तर झुठो प्रतिवेदन तयार समेत गरेर संचालित हुनेगर्छ । संस्थाहरुको वैधानिक शक्ति या त सकिन्छ या व्यक्ति केद्रित भएर बैधानिक अपहरण हुन्छ ।
क्लेप्टोक्रेसीलाई सुन्दर पछेउरी ओडाउन सुनियोजित केही कृत्रिम र उत्तेजीत बहस सृजना पनि गरिन्छन । भाते, निम्छरो, निकृष्ट, जहाज, रेलजस्ता बहसले मूलमुद्दा विषयान्तर गर्ने खेल खेलिन्छन् । ब्यक्ति भ्रष्ट हुँदा रोक्न नीति, नियम कानुन मात्रै हुँदैन्, समाजको नैतिक दवाव पनि हुन्छ । जब नीति–नियम नै बनाएर भ्रष्टाचार हुन्छन् र पार्टी नै त्यसकाे मतियार हुन्छ भने त्यो देशको भयावह अवस्था बन्छ । सिण्डिकेट भ्रष्टाचारको मौन साक्षी पार्टी हुन्छ, कार्यकर्ता दिमागलेभन्दा भ्रष्ट जोगाउने खेलाडी बन्छन्, बिरोध गरे आफैँ नाङ्गिएला भन्ने अवस्था अर्को भ्रष्टलाइ आउँछ तब शुन्य सहनशीलता आदर्श नाटक भन्ने हुन्छ । सिण्डिकेट सदस्य एकआपसमा औला ठड्याउँदै भन्छन्– म मात्र भ्रष्ट्राचारी हुँ ? तिमीले टुकुचाको मुहान खोलेका हौ, मैले र मेराले त नुहाएका मात्र हुन् । सहमति र समझदारीमा वाइडवडी जस्तै अब चुप रहुँ । तै चुप, मै चुप, उ चुप, यी चुप । सबै चुप ।
“क्लेप्टोक्रेसीलाई सुन्दर पछेउरी ओडाउन सुनियोजित केही कृत्रिम र उत्तेजीत बहस सृजना पनि गरिन्छन । भाते, निम्छरो, निकृष्ट, जहाज, रेलजस्ता बहसले मूलमुद्दा विषयान्तर गर्ने खेल खेलिन्छन् । ब्यक्ति भ्रष्ट हुँदा रोक्न नीति, नियम कानुन मात्रै हुँदैन्, समाजको नैतिक दवाव पनि हुन्छ ।”
सुडान प्रकरण, भ्याट एनसेल, चुडामणी केस, अख्तियारको महाअभियोग र लोकमान सिंह कार्की, राजितराम पाठक, वाइडबडी, नागरिकता, सिके राउतको नाटकीय जेल रिहा र सरकारी सम्झौता, बालुवाटार जग्गा प्रकरण, आयल निगम र खडका काण्ड, राजस्वका अर्वौ रुपिया नीतिगत छुट, सुन काण्ड, निर्मला हत्याजस्ता राष्ट्रिय महत्वका दिर्घकालीन प्रभावराख्ने विषय योजनावद्द बहसबाट खारेजीमा परे । एनसेल साहुजीको प्रायोजनमा सरकारी नेकपाका अध्यक्षको महाभोज र सबै दलका पाहुनाको उपस्थिति सामान्य विषय मात्रै थिएन । सर्वोच्च कार्यकारीकोे सरकारी निवास बालुवाटारसमेत बिक्रीमा सरकारी पार्टीका महासचिवको सम्लग्नता र कृत्रिम तर्कखेती, नाङ्गा आँखा सामु कानुनी दुहाई र पार्टीको मौनता, एनसेल प्रकरण र सर्वाेच्च न्यायालयको फैसला, खुलामञ्च र भेटवाल प्रकरण । मिडिया नियन्त्रण बिधेयक, हरेक घटनाले पहिलाको बिर्साइदिनु भनेको जनतालाई नै कतै बिर्सने रोग (अल्जाइमर) लागेको त होइन् ?
जहाँ सत्ता र प्रतिपक्षको अदृस्य सम्झौता हुन्छ, सबैकुरा सेटिङमा चल्छ । आवेगी भीड बनाउन पनि नयाँ र कृत्रिम मुद्दा अघि सारिन्छन्, अन्यन्त्र मोडने खेल र झेल हुन्छन् । अभियुक्तलाई सिण्डिकेट लागेर चोख्याइन्छ । केही दिन मिडियामा खुब चर्चा हुन्छ, केही समय नबित्दै हराउँछ । मिडिया म्यानेज गरिन्छन् । यो संयोग हो ! कि योजनावद्ध ! मूलधारका मिडिया हुन या सामाजिक संजालका बहस हुन् ती एकहप्ता किन टिक्न पाउँदैनन् ! सक्दैनन् ! कसरी बहसपटलबाट एकाएक हराउँछन ! गायव पारिन्छन् ! जनता नबनिसकेको भगवान भरोसे भिडको सहज मस्तिकले यस्ता विषय पत्तै पाउँदैन्, वास्तै हुँदैन् । एउटा मुद्दाको किनारा लाग्न नपाउँदै अर्को मुद्दा उरालिन्छन्, पहिलाको गम्भीर विषय ओझल पारिने वा दवाइने त्यो अदृस्य खेल नै समाजवाद उन्मुख भन्दै अभ्यास गरिने क्लेप्टोक्रेसी बन्न पुग्छ ।
“क्लेप्क्रेसीमा आलोचनात्मक चेत राख्ने र आन्दोलनमा फेर्नेलाई विप्लवी ठान्छ । जसले प्रतिरोधी आवाज उठाउँछ, उ विप्लवी ठहरिन्छ । चेतना र कलम हुकुममा हाँकिने फरमान इस् भनिदिने आतङ्कारी बन्छन् । सहमतिमा हिम्मत र विमतीमा विवेक भएकाले मात्र क्रान्ति उत्तर हैन् आफैँ प्रश्न हो भन्ने चिच्याहटको नैतिक पुँजी राख्छ ।”
‘जयनेपाल’, ‘मेरो सरकार’, ‘निम्छरो’, प्रचण्ड विवाहको वर्षगाँठ, पार्टी एकता, गुट कलह जस्ता शब्दले आवेगमय बनाउने कोशिस भयो । ती सामाजिक प्रतिकृयाको नाडी छाम्न र गम्भीर मुद्दा कसरी विषयान्तर गर्न सकिन्छ भन्ने योजनावद्द बहस थिए । संगठित अपराधको विषय आन्दोलन बन्न त सकेकै थिएन, बहसबाट समेत हरायो । आचार, विचार र ब्यवहारमा भ्रष्टाचारलाई नेपाली समाजले आफ्नो नियति र पहिचान बनाइसक्यो । जुन उद्देश्यसाथ संघीय राज्य व्यवस्थाको कल्पना गरिएको थियो तर सिंहदरवार गाउँ पस्दा भ्रष्टाचार संस्कृतिलाइ समेत लिएर पस्यो । गम्भीर विषय बहसहीन, कारवाही हीन, मौनसमाज बनिदिँदा संवेदनहीन, आक्रोस हीन घृणारहित देश बन्यो । आदर्श सुन्दर बस्त्र थिएन्, जीवन थियो, हो । तर, शक्ति उन्मादले शासकहरु समयको पदचाप सुन्दैनन् भने इतिहासबाट शिक्षा पनि लिँदैनन् । लम्पट दिमागलाई उन्माद भरेर भ्रष्ट पार्दै भ्रष्टहरू आफ्ना सुरक्षित बंकर खोज्छन् ।
जब सरकारप्रति, न्यायालयप्रति, नेताप्रति, पुलिस प्रशासनप्रति, राजनीति र मिडियाप्रति विश्वास हराउँदै जान्छ तब त्यो केही न केही हुँदैछ भन्ने पूर्वसङ्केत हो । संयोग मात्रै हैन्, प्रतिपक्ष सहितको सहभागिता सिण्डिकेट राजनीतिको हिस्सा हो । क्लेप्टोक्रेसी सत्ताले गरेको अपराध देशले, समाजले र युगले पुर्ताल गर्नुपर्छ । कहिलेकहीँ निरपराधीले समेत भोग्नुपर्छ ।
नैतिकपुँजी हुनेसँग भने इच्छाशक्ति हुन्छ । उसैले मात्र बादशाहलाई नाङ्गो भन्न सक्छ, पार्न सक्छ र घोडाबाट उतार्न पनि सक्छ । त्रिताल समितिले सिण्डिकेटलाई भने नाङ्ग्याइदियोे । तर, वाइडवडीको पराजुली आयोग खै ? के उसले कार्यादेश पायो ? अन्य कतिपय छानविन आयोग त विषय सार्वजनिक गर्ने, दण्डित सिफारिसकर्ता भन्दा पनि घटना दबाउने माध्यम बन्दैछन् । अख्तियार हजारदेखि लाखसम्म त कारवाही दायरामा पार्छ तर करोड अर्व र खर्वको बैधानिकता दिलाउँछ । न्यायालयका ठूला फैसला शङ्कारहित छँदै छैनन् । कतिपय त पेसीरहित मुद्दाकै जीवन गुज्रिसकेको हुन्छ । क्लेप्टोक्रेसी सञ्चालक सिण्डिकेटको अदृश्य हात यति शक्तिशाली छ कि ऊ नीति र विधिमै हस्तक्षेप गरेर संसद, अदालत, सिंहदरवार, अख्तियार, बालुवाटार, खुमलटार, मण्डिखाटार म्यानेज गरिदिन्छ ।
“आफ्नै इतिहासलाई विष्टयाउँदै बास्नाका भजनकर्ता लेखनदास जन्माईन्छन् । कयौं बुख्याँचा ठिङ उभ्याएर चौथो अंगको गौरवतावोधलाई चुत्थाे अङ्ग बनाएर अगाडि सार्न सक्छ । औकात भूलेका कार्यपालिका, ब्यबस्थापिका र न्यायापालिकानै सिण्डकेट छाँटमा म्याराथुन दौडमा सामेल हुन्छन् ।”
क्लप्टाेक्रेसीका कारण गणतन्त्र सहितको लोकतन्त्रमाथि अहिले औला उठ्दैछन् । प्रतिगमन सल्बलायो । सडक मौन छ । नागरिक समाज मौन छ । जनयुद्द र जनआन्दोलनकारीबारे पश्चगामीले प्रश्न त्यसै गरेका हैनन् । राजनीतिलाई व्यवसाय बनाउने हास्य कलाकार बनेका छन् । युक्रेनका सरकार परिवर्तनको ताजा खबर र इतिहासको निर्ममता भने हेक्कै राखेनन् ।
क्लेप्क्रेसीमा आलोचनात्मक चेत राख्ने र आन्दोलनमा फेर्नेलाई विप्लवी ठान्छ । जसले प्रतिरोधी आवाज उठाउँछ, उ विप्लवी ठहरिन्छ । चेतना र कलम हुकुममा हाँकिने फरमान इस् भनिदिने आतङ्कारी बन्छन् । सहमतिमा हिम्मत र विमतीमा विवेक भएकाले मात्र क्रान्ति उत्तर हैन् आफैँ प्रश्न हो भन्ने चिच्याहटको नैतिक पुँजी राख्छ । जनता लम्पट बनेमात्र क्लेप्टाेक्रेसी सत्ता रहने हुँदा विचरा बालअपाङ्गलाइ देवता बनाएर होस् या होली वाइन पियाएर होस् वा भजन किर्तनको महायज्ञमा किर्तन गाएर मुर्ख र लम्पट समाज बनाउने प्रयास गर्छ । जनयुद्द र जनआन्दोलनको मर्म काउसो बनेर इतिहास, विचार, र पृष्ठभूमिका त कुरा गर्छ तर त्यसैबाट आतङ्किंत बन्छ ।
क्लप्टाेक्रेसी सत्तासँग कानुन, जेल, प्रहरी, कालाकोटे र खैराकोटे जर्नेल मात्र हुँदैनन्, संविधानका पुस्तक र मेरो सरकार मात्र पनि हुँदैन् विषयलाई अन्यन्त्र मोडेर भीड बनेको जनताको मस्तिकमा भुस भरिदिने कला पनि हुन्छ । कृत्रिम आतङ्कको बबण्डर मच्चाएर कुथ्थुर पार्न सक्ने खुवी हुन्छ । हिजोका क्रान्तिकारीलाई खुसी पार्ने सनसो पनि हुन्छ । आफ्नै इतिहासलाई विष्टयाउँदै बास्नाका भजनकर्ता लेखनदास जन्माईन्छन् । कयौं बुख्याँचा ठिङ उभ्याएर चौथो अंगको गौरवतावोधलाई चुत्थाे अङ्ग बनाएर अगाडि सार्न सक्छ । औकात भूलेका कार्यपालिका, ब्यबस्थापिका र न्यायापालिकानै सिण्डकेट छाँटमा म्याराथुन दौडमा सामेल हुन्छन् । आस र त्रासका कलाविहीन नाटक गर्छ । चरम भ्रष्टाचार कुशासन, दिमागी व्यवस्थापन गर्न ठूला मूद्दालाइ बहसहीन बनाउन सामान्य उत्तेजनात्मक विषय छताछुल्ल पारेर सचेत जनतालाई भीडमा फेर्ने यसको बाध्यता हो । भ्रष्टाचार राष्ट्रिय संस्कार बनिसक्दा सवैतिर आक्रोस हुँदा पनि सडक भने क्लेप्टाेक्रेसी सामु किन मौन छ ! चिच्याउँदैन् ! (लेखककाे फेसबुकबाट)