नगरपालिकाको गाडीमा मध्यराती आगजनी

अछाम, १ जेठ । मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेको छ । अज्ञात समूहले नगरपालिकाको बा २ झ ३६९४ नम्बरको जिपमा राती २ बजेर २० मिनेट तिर आगजनी गरेको जनाइएको छ । आगलागीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ ।

नगरपालिका कार्यालय परिसरमै रखिएको उक्त गाडीमा मध्यराति आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनक बहादुर शाहीले पुष्टी गरेका छन् ।

गाडीमा आगजनी भएपछि त्यहाका स्थानीयले जानकारी दिन बितिकै प्रहरीले घटनास्थल पुगेर आगो निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म आगजनी गर्ने समुहको अत्तोपत्तो नलागेको बताउदै डिएसपी शाहीले आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको बताए ।

नगर प्रमुख चढ्ने उक्त गाडी करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो । यो समाचार तयार पार्दासम्म आगजनी कसले किन गरेको हो भन्ने बारे स्वतन्त्र पुष्टी भैसकेको छैन भने घटनाको पनि कसैले जिम्मा लिएको छैन । तर केही स्थानीयले भने गाडीमा आगजनी गरिएको नभएर बम बिस्फोट गराइएको आशंका गरेका छन् ।

राती स्थानीयहरू सुतिरहेका बेला ठुलो आवाजमा केही बिस्फोट भएको जस्तो भएको र त्यसपछि मात्र आगजनी भएका कारण बम बिस्फोट गराइएको हुन सक्ने आशंका गरिएको हो ।

पछिल्लोसमय स्थानिय तहमा ब्यापक भ्रष्टाचार र अनियमितता बढ्दै गएपछि नागरिक स्वयम् पनि जनप्रतिनिधिहरु प्रति आक्रोशित बन्दै गएका छन् । जन प्रतिनिधिहरुले जनताको काम गर्ने भन्दा पनि आफुले सकेजतिको सुबिधा भोग गरेर विलासी जीवन यापन मात्र गर्ने गरेको भन्दै देशभरका नागरिकहरुले आलोचना गर्न थालेका छन् । ठिक यहि बेलामा उक्त गाडीमा आगजनी भएको छ ।

एकातिर केन्द्रमा राष्ट्रपतिले मेरो सरकार भनेको बिषयले चर्चा पाइरहेको छ भने अर्को तिर प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा असभ्य भाषा प्रयोग गरेको बिषयले चर्चा पाइरहेको छ । केन्द्रिय सरकार निरन्तर आलोचनाको सिकार बन्दै गइरहेको बेला स्थानिय तहमा पनि जनप्रतिनिधिहरु प्रति नागरिकको आक्रोश बढेर गएको यो आगजनी प्रकरणबाट बुझन सकिन्छ ।

Loading...