संसार, गलत क्रियाकलाप गर्नेहरुबाट नष्ट हुँदैन् तर यसकारणले हुन्छ जो गलत क्रियाकलाप चुपचाप देखिमात्र रहन्छन् । — अल्बर्ट आइन्स्टाइन
समाजको मौन संस्कृति डरलाग्दो हुन्छ । बोल्नुपर्ने, चिच्याउनु पर्ने विषय र समयमा समेत मौनता खतनाक हुन्छ । त्यसले जागरुक र चेतनशील, खतरासँग जुझ्ने भन्दा पनि लम्पसारवादी समाज निर्माण गरिरहेको हुन्छ । मौन बसिदिँदा राजनीतिक पार्टीहरु भ्रष्ट उत्पादनका कारखानामा फेरिन्छन् । आदर्श बोझले किचिएका नायकहरु बामपुड्के बन्दै जान्छन् । तोप बनेर गर्जिने नागरिक र मिडिया आक्रामक नबन्दा समस्या थपिएको छ । आन्दोलनका घोषणपत्र बन्ने जुझारु कविता पढ्न लालयित हुनु पर्ने भएको हो । विश्वका जीवित ठूला वैज्ञानिक स्टेफेन हकिङ्सको भविष्यवाणी आगामीे सय वर्षमै धर्तीमा महा प्रलय हुनेछ । मानव वंश कठिनाइमा पर्नेछ भन्ने क्षण कुर्नै नपरेर के अहिले नै नेपालमा आएकै हो त ! भन्ने भयो ।
देशकै सबैभन्दा ठूलो आर्थिक भ्रष्टाचारको मुद्दाले धेरै सोच्न बाध्य पा¥यो । मुद्दा अदालतमा प्रवेशका साथै जो उदासिनता देखिए त्यसले अनेकौं जिज्ञाशा तेस्र्यायो । मुद्दाप्रतिको सामूहिक सोच र सरोकार वा आन्दोलन बन्न नदिने भ्रष्ट सिण्डिकेटका खेल सुरु भए । बहसहीन, सरोकारहीन, महत्वहीन बनाईदै गए । अशंका बहस उत्तेजनामा फेरिँदै त छन् तर कारक पक्ष भने खोतलिँदै छैन ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई विभिन्न व्यक्ति र संस्थालाई राजस्व छुट दिँदा राज्यकोषमा २० अर्ब रुपैयाँ घात गरेको आरोप लाग्यो । उनको रिहाईमा मात्र ३ अर्ब २ करोड धरौटी माग भयो । दुई आरोपी भने फरार छन् । साङ्केतिक अदालती पहिलो आदेश आइसक्यो । राजनीतिक पार्टी, सदन, मिडिया, नागरिक समाज, जागरुक समाजको मौनतालाई देख्दा भने नेपालको सबैभन्दा ठूलो झुट भनेको कुनै दल वा जिम्मेवार अभियान भ्रष्टाचार विरुद्ध लडिरहेको छ भन्ने हो ।
माथिदेखि तलसम्म मात्रै हैन, समग्र सरोकारवालाहरुलाई समेत मिलाउन सक्ने शर्मा एकपात्र मात्र हैनन, पात्रशिरोमणी र भ्रष्ट सिण्डिकेटका सिईओ पनि हुन् । तर, लहरो तान्दा पहरो गर्जने भएकाले भ्रष्ट सिण्डिकेटले योजनावद्ध ध्यान भने अहिले विषयान्तर गर्दैछ । सो सिण्डिकेटको अप्रेसन गर्ने खोजी पत्रकारिता देखिएन् वा सो पनि त्यसै सिण्डिकेटको जालोमै फस्यो । राजनीतिक पार्टीका मौनता बहुअर्थी छन् र साझेदारी बोली छ । आर्थिक भ्रष्टाचार भन्दा पनि संसारकै ठूला भ्रष्टाचार भनेका नीतिगत भ्रष्टाचार हुन्छन् । त्यही छिद्रमा न्यायका खेल खेलिन्छ । यस्ता अपराधको साझेदारी हात लामो हुछ । जवाफदेही विनाको राजनीति यसको मुख्य कारक पक्ष हो । अरुमा मत भिन्नता भए पनि भ्रष्ट सिण्डिकेट बनाउन, चलाउन र रक्षा गर्न भने सबै राजनीतिक पार्टीहरु एका ठाउँमा सहमतिमा पुग्छन् ।
तर, चनाखो रहने यो सामाजिक मौनता भने सामान्य छैन् । नागरिक समाज यस रेकर्डतोड विषयमा मौन छ । घडी र मिर्गाैला सदनका विषय हुने तर यो विषय भने संसद पनि मौन् । यसमा म भने चोखो छु भनेर पूर्वअर्थमन्त्रीहरु मौन छन् या बचाउमा छन सार्वजनिक गरिनुपर्छ । त्यो मौनताको मुहान सिण्डिकेटको असर टुईकल डाउन सिद्धान्तले तलतल चुहिँदै लाभार्थी बन्दै गएको देखिन्छ् । नत्र विद्यार्थी सङ्गठन किन मौन ? आन्दोलनका शीर्षकहीन भएका अखिल, नेविसंघ कता हराए ? । तरण दल, वाईसिएल र युवासंघको चासो बनेन् । विवेकशीलता हरायो । मौनताकै पनि कतै सिण्डिकेट त बनेको छैन् ? भन्ने भयो ।
गम्भीर विषयलाई सहज र सरल बनाउनु वा वास्ता नराख्नु भनेको मौन संस्कृतिकै अर्को रुप हो । सोच, सपना र सवेदनशीलता कसैले कहीँ धरौटी राखेको छैन् भने देशको अवस्था र राजनीतिज्ञहरुको अकर्मन्यता हेर्दा समाज चिन्तत हुनै पर्ने हो । तर, शर्मा–सिण्डिकेट जस्ताले फैलाएको मौन संस्कृतिको महामारीले समाजलाई क्रमशः गाँजेर हरेक महत्वका विषय महत्वहीन बनाईदिनुको परिणाम चौतर्फी उकुसमुकुस हुनु तर कहीँ कतै पनि चासो र सरोकार भने नबन्नुका कारण बने । यसमा सत्ताका डाडुपन्यू समातेका कांग्रेस, एमाले र माओवादी नेतृत्वका भ्रष्ट सिण्डिकेटमा सहमति बन्नु र ती सम्बन्धित भातृ सङ्गठनलाई आन्दोलनको मुद्दा नबन्नका कारण बने ।
परिवर्तनको लागि त्याग, बलिदान र मूल्य तिरेको समाज अहिले भने रमिते, तमासे र उपदेशक बनेर आफनो कर्तव्य पूरा भएको ठान्दैछ । किन परिवर्तनका मान्यता र आदर्शहरु संस्थागत गर्न र आदर्श पछ्याउन बजार संस्कृतिको विरुद्ध जानै सकेन् । जब कार्यकर्ता नभै कारिन्दा पार्टीहरुमा रहन्छन् त्यस्तो बेला गम्भीर विषय बहसमा उठ्दैनन् । उठे पनि हल्का पारिन्छ । यस्तो गम्भीर विषय ठूला पार्टीहरुका छलफलका विषय नै बनेनन् । बाधा, अडचन कहाँ परेको छ ? किन त्यो गाँठो फुक्दैन् भनेर भ्रष्ट सिण्डिकेटका कारण चिन्ता समेत जाहेर गरेनन् ।
त्यसैले त अहिलेको अवस्था हेरेर कोही पनि भ्रष्ट सिण्डिकेटमा नरहेको वा नपरेको संवेदनशील र सचेत मान्छेहरु दिउसोको चैन र रातमा मस्त निदाउनै नसक्नुपर्ने हो । ऊ आग्रहले अर्कैलाई धारे हात लगाउँदै दोष अर्काको थाप्लोमा थोपरेर आफू ओबानो मात्र देखिन चाहन्छ् । या त विरह वा कुण्ठाका कविता लेख्न थाल्छ । अझ आक्रोशित मस्तिकलाई कुण्ठा र मनोरोग पोख्ने फेसबुके भित्तो पो बनेको छ । आक्रोश र घृणाका उर्जा आन्दोलन बन्न भने सकिरहेका छैनन् । आखिर मान्छेलाई यो के भो ? किन भयो ? भागौं कहाँ भागौँ ? भाग्दैमा भाग्न सकिन्छ र ? पाईन्छ ? गरौँ, के गरौँ ? गुनासो राखौं, कोसँग ? रिसाउँ…. कोसँग ? आखिर केही न केही त गडवड भइरहेकै छ नै… । आखिर त्यो गडबड के हो ? हामीमा, आस्थाको पार्टीमा भनेर सोच्ने कामले भने विश्राम लिएको देखिँदैछ । समग्र आन्दोलनमा र हाम्रो युगमा सोच्ने ठेक्का अरुलाई नै सुम्पिदै निरासिदै पलायन हुँदैछ । पाल्सी आदर्श झाड्दै त्यही पाखण्डको खोल ओढ्ने अभ्यस्त हुँदैछ । सोचको यस्तो पूर्णविराम किन लाग्छ ?
हो, हरेक संक्रमणकालमा पुर्खाले भनेझै युग हाँकिदैन । केही त गडबड हुन्छ नै । तर, हरेक प्रतिकूलतालाई चाबुक मारेर अनुकूलतामा फेर्ने नेपाली राजनीति कहाँ चुक्यौँ र यस्ता भ्रष्ट सिण्डिकेटले राज्यमा मात्र शासन गरेनन्, मन र मस्तिकमा पनि हैकम कसरी चलाउन सके ? आखिर कहाँ गल्ती भयो ? त्यो गल्ती सुधारेर अगाडि कसरी बढ्ने ? समयको गतिलाई लगाम खिँचेर आफ्नो चाकर कसरी बनाउने ? आखिर विरोधको हतियारमा खिया लाग्नु पहिल्यै किन अर्जापिएन ? आखिर कहाँ भूल भयो ? कहाँ चुकियो ?
यो अवस्थाबाट मुक्त हुन उपाय खोज्नैपर्छ । तुहिएका सपना, बिर्सिएका आदर्श, भुलेका प्रतिबद्धताहरु फेरि अर्कोपटक हासिल गर्नैपर्छ । रुप जेसुकै होस्, खिया लागेका सोचलाई आरनमा डढाउनै पर्छ । पक्कै हो, …बुर्जुवाहरुको आदर्श पनि धान्न नसक्नेले कम्युनिस्ट भन्न छुट समेत पाउँदै गए । जसलाई रुपमा अरुले हेर्छन र आफन्तमा विश्वास पैदा हुन्छ त्यसमा कहीँ न कहीँ चुकेकै हो । चुक्याँै । यसैले आदर्शले स्वयम नै चिथोरिरहेको बेला हो, अहिले । अर्को पटक आशा प्राप्त गर्नै पनि आफैँप्रति निर्मम बन्नैपर्छ । अर्कोपटक सपनाको शिला खोज्नैपर्छ । फेरि त्यहाँ ध्यान दिनुपर्छ– जहाँ आशाको लहलहाउदो बगैचा वसन्तिलो बहारमा झुलिरहेको होस् । … प्रतिभा, विश्वास, सौन्दर्य र उमङ्गका पूmलहरु फक्रन मौसमको पर्खाइमा रहेका हुन … । त्यो मौलिकतामा रहेको कल्पनाशीलता अर्कोपटक हासिल गर्नैपर्छ । वरिपरि नै बेरेर राखेका निजी विषय चाहे त्यो स्वत्वको होस् चाहे अहंकार र आग्रहको… त्यसले अविस्वासको खाडलमा जाकिदिएर पराईमा भर पर्न हौस्यायो । त्यो अहिलेको अविस्वासको अभेध्य किल्लाको चक्रब्यूह तोड्नैपर्छ । आफैप्रति निर्मम भएर मात्र सपनालाई सार्थक पार्ने अर्को अठोट गरियो भने असाध्य केही छैन र हुँदैन ।
मौन संस्कृति र तर्कहीन निष्कृय समाज मृतसमाजको सङ्केत हो । ब्रतोल ब्रेख्त भन्छन्– “हाम्रो समाजमा चौतर्फी असन्तोष त छ, तर किन विद्रोह भने हुन सकिरहेको छैन् ?”
ब्रेख्तलाई जवाफ दिन आवश्यक छ । नेपाली राजनीतिलाई भ्रष्ट सिण्डिकेटको सहमती चक्रब्यूहबाट निकाल्न मौन संस्कृति तोडेर मात्र मारक तर्क, गतिशील समयको नाडी छाम्ने र त्यसलाई वाणी दिने नेतृत्व, त्यसैको वरिपरि केन्द्रित सकृयतावादीहरु र क्षय भएको विश्वासको पुनःस्थापित नीति तथा कार्यक्रम, विश्वासिलो कार्यदिशा, भरपर्दो नेतृत्वको टिम निर्माण गर्न सकिन्छ र आजको आवश्यक पनि त्यही हो ।
पढ्न छुटाउनुभयाे कि !
अख्तियारको नियन्त्रणमा ज्वाइ सरह बसेका शर्मालाई प्रहरी हिरासतमा लिन सर्वोच्चको आदेश
बलात्कारी र भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने माग गर्दै संसदमा एक दर्जन सांसदले गरे हंगामा
मन्त्रीकै अगाडि कार्यकारी अधिकृतमाथि कुटपिट । मन्त्री साह हेरेको हेर्यै