ओली सरकारमाथि कांग्रेस बुँदागत आलोचनाको वर्षा

काठमाडौँ । नयाँ वर्षको पहिलो दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले टर्रा गालीगलौज गरेर देशवासीका नाममा सम्वोधन गरे । सबैप्रति आलोचना गरिरहने प्रधानमन्त्री ओलीले कम्तिमा नयाँ वर्षका दिन नयाँ शैली र विषयवस्तुसहित सम्वोधन गर्ने अपेक्षा धेरैको थियो । तर, त्यस विपरित पुरानै शैलीमा नन्दी र भृंगी भन्दै प्रम ओली गालीमै उत्रेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त्यसको प्रतिवाद गरेको छ ।

नेपाली कांग्रेसले सरकार नाटक गर्नमै बढी लागेको बताएको छ । कांग्रेसले पत्रकार सम्मेलन गरेरै यसपटक प्रम ओलीको आलोचना गरेको हो । साथै कांग्रेसले यसपटक बुँदागत रुपमा प्रधानमन्त्रीमाथि आलोचनाको वर्षा गरेको छ । ओलीको पछिल्लो अभिव्यक्तिलाई आपत्तिजनक रहेको बताउँदै पत्रकार सम्मेलनमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको आरोप समेत लगाए ।

उपसभापति निधिले भने, ‘बुढाबुढीको छेउमा गएर नभन्नुहोला, ढुंगा हान्छन् । केटाकेटीले सुन्ने गरी नभन्नुहोला लखेट्छन् भन्नुभयो ।प्रधानमन्त्रीको यो अभिव्यक्तिे आपत्तिजनक छ, हामी यसको घोर भत्सना गर्दछौँ ।’ आफ्ना कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उनेको भनाई थियो ।

पत्रकार सम्मेलन मार्फत कांग्रेसले सरकारका सात शून्य कार्य विवरण समेत सार्वजनिक गरेको छ ।

अघिल्लो सालमा सरकार प्रति जनताको नयाँ आशा बोकेर आएको भएता पनि वर्ष सकिदा आशा विश्वासमा बदल्न नसकेको भन्दै काँग्रेसले सरकारको काम उत्कृष्ठ भएको भन्दै व्याख्या गर्न नमिल्ने उल्लेख गरेको छ । ०७५ प्रारम्भ हुँदा सरकारले अब वास्तवमै मुलकमा राम्रो प्रगति गर्ला र विकासमा लोभलाग्दो प्रगति गर्ला भन्ने सोंच बोकको जनताको आशालाई निराशामा परिणत गरेको काँग्रेसको जिकिर छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कर्तव्यमा असर नपार्ने नियत लिएर शालिन ढङ्गले काम गर्दा समेत ओली नेतृत्वको सरकारले कार्य सम्पादन गर्न नसकेको आरोप लगाएको छ ।

सरकारको तर्फबाट सफल रहेको भन्ने वक्तव्य सार्वजनिक स्थानमा बोल्दै हिडेको भए पनि काँग्रेसले भने त्यसलाई खासै सफलता हासिल गर्न नसकेको बताएको छ । फास्ट ट्याक अन्र्तगर्त काम गरेर विश्व चकित पारेका छौँ भन्ने मन्त्रीहरुको उद्घोष आएकै विषयमा कांग्रेसले विरोधाभाष भएको भन्दै शून्य सफलतामा राखेको छ । संवैधानिक परिषद् र न्यायपालिका, मुलुकको अन्तर्राष्ट्रिय छविमा ह्रास, शान्ति सुरक्षामा प्रगति शून्य, भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा ०७५ सालमा यसरी बदलियो ‘सुन्ने सहनशीलता’मा, समृद्धि यात्रामा वितरित सपना र अपेक्षाको तुलनामा प्रगति न्यून, प्रधानमन्त्रीको अभिव्यक्तिमा संस्कार समेत शून्य प्रगति भएको लेखिएको छ ।

काँग्रेसद्वारा जारी विज्ञप्तीको पूर्ण पाठ

१. संघीयता कार्यान्वयन र शक्ति केन्द्रीकरणको विरोधाभास

संघीयताको संस्थागत जगेर्ना गर्ने कार्यमा वर्ष ०७५ मा सरकारले अपेक्षित गति प्रस्तुत गर्न सकेन । अधिकार वाँडफाँड, राज्यका तहगत संरचनाहरुको निर्माण र हस्तान्तरण, कर्मचारी समायोजन र उचित वजेट प्रवन्ध त हुन सकेन नै प्राय प्रदेशहरुको नामाकरण र राजधानीको टुंगो समेत यो वर्ष हुन सकेन । यो वर्ष शक्तिको अधिकतम विन्यासको संघीयताको सिद्धान्त विपरित एकातर्फ प्रधानमन्त्री कार्यालयमा राज्यका महत्वपूर्ण अंगहरुलाई केन्द्रीकृत गरियो भने संविधानले राष्ट्रिय सुरक्षा परिषदलाई प्रत्याभूत गरेको सेना परिचालन सिफारिसको अधिकार हनन् गर्ने विधेयक ल्याएर परिषद्लाई प्रधानमन्त्रीको लाचार छायाँ बनाउने दुष्प्रयास गरियो ।

यस दृष्टिले शक्ति विकेन्द्रीकरण र संघीयताको सफल कार्यान्वयनका सन्दर्भमा वर्ष ०७५ असफल हुन पुग्यो ।

२. संवैधानिक परिषद् र न्यायपालिका

नेपालको संविधानले संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी नेताको अनुपस्थितिको परिकल्पना गरेको छैन । तर वर्ष ०७५ मा संवैधानिक परिषद्लाई कार्यपालिका झै एक पक्षीय बनाउने दुष्प्रयासलाई गति दिइयो । वर्ष ०७५ मै न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ झै बनाउने प्रयत्न पनि दृष्यमा प्रस्तुत भयो ।

३. मुलुकको अन्तर्राष्ट्रिय छविमा ह्रास

सरकारको अपरिपक्व र अदूरदर्शी शैलीका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको छविमा ह्रास आएको छ । मुलुकको शान्ति, समृद्धि र समग्र प्रगतिका लागि वाह्य सम्वन्धहरु विशेष रुपले संवेदनशील हुन्छन् तर राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सोही अनुरुपको प्रस्तुति वर्ष ०७५ मा वर्तमान सरकारबाट हुन सकेन ।

४. शान्ति सुरक्षामा प्रगति शून्य !

नागरिकको प्रथम अपेक्षा सरकारसँग के हुन्छ प्रधानमन्त्रीज्यू ? प्रश्न गरे उहाँको जवाफ सायद पानीजहाज हुन सक्छ । पानीजहाज सपनाप्रति हाम्रो सिद्धान्ततः विमति छैन तर नागरिकको प्रथम अपेक्षाको शान्ति सुरक्षा के त्यही पानीजहाज चढेर आउने हो ? ०७५ सालमा मुलुकमा तीव्र ढंगले खस्किएको शान्ति सुरक्षाको स्थितिप्रति प्रधानमन्त्री किन गम्भीर देखिनु हुन्न ?

– नागरिक तहमा बलियो आकारमा रहेको यो प्रश्नको जवाफ के छ प्रधानमन्त्रीजीसँग की निर्मला पन्तको प्रकरणका दोषीहरु कठघरामा किन छैनन ? निर्दोषलाई दोषी करार गरेर, दोषीलाई जोगाउन किन पूरै राज्यसत्ता वदनाम भएर सरिक भयो ? कहिले कार्वाहीको दायरामा आउँछन् दोषीहरु ?

– प्रधानमन्त्रीजी के चिन्नु हुन्छ आफ्नै निर्वाचन क्षेत्र झापा ५ कोरोवारीका अलगचन्द राजवंशीलाई जो कात्र्तिक २१ गते नेपाल–भारत सीमाको दशगजामा गाडिएको अवस्थामा भेटिए ? जसको छोरा उदयले दिएको जाहेरी हालसम्म पनि दर्ता गरिएको छैन । प्रमज्यूलाई सम्झना हुन सक्ला उहाँकै क्षेत्रको कमल गाउँपालिकाका खेमराज पौडेलेको नाउँ, युवा कपडा व्यापारी जो वर्ष ०७५ मै निर्ममतापूर्वक मारिए ?

– सत्तारुढ कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुबाट वर्ष ०७५ मा मारिएका प्रतिपक्षी दलका कार्यकर्ताहरुको यो सूचीले शान्ति सुरक्षाको स्थिति राम्रो रहेको बयान गर्छ ?

१. रोहित पुन, रोल्पा
२. रामविलास महतो, सर्लाही
३. अनिश पुरी, रुपन्देही
४. प्रमोद यादव, सर्लाही

– काठमाडौँ उपत्यकामा वयोवृद्ध पूर्व राजदूत मारिए, उपत्यकामै बालकहरु अपहरणपछि मारिए । वर्ष ०७५ मा झण्डै एक दर्जन नागरिक राजधानीमा मात्रै मारिए । यस्तो स्थितिमा दुरदराजको शान्ति सुरक्षा ढुक्कको रह्यो भनेर अनुमान गर्न सक्नु हुन्छ प्रधानमन्त्रीज्यू ?

५. भ्रष्टाचारमा शून्य सहनशीलताको घोषणा ०७५ सालमा : यसरी बदलियो ‘सुन्ने सहनशीलता’ मा !

– आफ्नै लगानीमा निर्माण गर्ने भनेर संकल्प गरिएको बुढीगण्डकी परियोजना विना प्रतिष्पर्धा विदेशी कम्पनीलाई स्वयं प्रधानमन्त्रीले सुम्पनु राष्ट्रघात र भ्रष्टाचार किन होइन प्रधानमन्त्रीज्यू ?

– वाइडबडी छानविनमा अख्तियार प्राप्त संवैधानिक संस्थाहरुलाई सहयोग नगरेर ‘शाही आयोग’ बनाउनुको रहस्यमा घोटाला ढाकछोपको नियत नभई के थियो ?

– आवश्यकता भन्दा दोब्बर जग्गाको रुख काट्ने प्रस्तावसँगै निजगढ विमानस्थल निर्माण प्रक्रियामा गतिरोध आउनु भ्रष्टाचारकै नियतको परिणाम हो कि होइन ?

– नब्बे प्रतिशत काम सकिएको मेलम्ची परियोजना वर्तमान सरकार बनेपछि कमिसनको खेलका कारण निर्माण कम्पनीले काम छोडेर जानु र काम अवरुद्ध हुनु आर्थिक वदनियतकै कारण हो कि होइन ?

– बालुवाटारको सरकारी जग्गा प्रकरणमा सत्तारुढ पार्टीका उच्च पदाधिकारीको संलग्नता प्रधानमन्त्रीको जानकारीमा छ कि छैन ? के यसलाई सदाचारको उच्च कोटीमा राख्नु हुन्छ प्रधानमन्त्रीले ?

– विद्युत प्राधिकरणको महसुल चुहावटको प्रतिवेदन गोप्य राखेर महसुल निर्धारण क्रममा विद्युत महसुल संकलन विनिमय ०७३ विपरीत अतिरिक्त शुल्क चुहावट गराएर नियमित शुल्क मात्रै लिई करिब ८ अर्बको अपचलनमा कोको सामेल छन् ? भिन्न प्रकृतिको भ्रष्टाचारमा यो पर्छ कि पर्दैन ?

– फ्रान्सबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीमा हुँदै गरेको करोडौँ रुपैयाँको अनियमितता प्रधानमन्त्रीज्यूको पारदर्शीता र इमान्दारीको अभिव्यक्ति अनुरुप भई रहेको छ कि यसमा संचारसँगै प्रधानमन्त्री कार्यालय पनि संलग्न छ ?

६. समृद्धि यात्रामा वितरित सपना र अपेक्षाको तुलनामा प्रगति न्यून !

हामी जान्दछौँ समृद्धिको गति क्रमिक शैलीको हुन्छ । एक घोषणामा हुन सक्ने राजनैतिक परिवर्तन झै एकै घोषणामा मुलुकको समृद्धि हुन सक्दैन । ०४६ को परिवर्तन पश्चात नेपाली कांग्रेसको नेतृत्वमा शिक्षा, स्वास्थ्य, सडक, संचार, खानेपानी, सिंचाई, विद्युत उत्पादन लगायतको क्षेत्रमा पर्याप्त पूर्वाधार खडा भएको छ । हिंसा र अस्थिरताका बीचमा ती प्रगतिले राज्य र निजी क्षेत्रमा गरेर लाखौं रोजगारी सृजना भए । बाल र मातृ मुत्युदरको ग्राफ यस बीचमा घट्यो भने नेपालीको औषत आयुमा वृद्धि भयो । कांग्रेसको पालामा खडा भएको समृद्धिको जगमा उभिएर कार्य गर्न वर्तमान सरकारका सामु तुलनात्मक रुपले सहज वातावरण थियो र छ ।

तर, सम्माननीय प्रधानमन्त्रीज्यूले अभिनय नगरी इमानलाई साक्षी राखेर भन्नु पर्दा के वर्ष ०७५ को आफ्नै नेतृत्वको सरकारको कामबाट उहाँ उत्साहित हुनुहुन्छ ? सरकारको एक वर्षे समिक्षा क्रममा फागुन ५ गते हामीले एकवर्षे उत्साह जगाउन नसकेका दिनहरुको विस्तृत समिक्षा प्रस्तुत गरेका थियौं । ०७५ ले विदाई लिंदै गर्दा लगानी सम्मेलन सम्पन्न गरेको तथ्य बाहेक तत्कालीक आर्थिक क्षेत्रमा सकारात्मक रुपान्तरणका संकेत विकसित भएका छैनन् ।

७. प्रधानमन्त्रीको अभिव्यक्तिमा संस्कार शून्य

कुनै पनि देशको प्रधानमन्त्रीको सफलता बोल्नुमा हुन्छ की काम गर्नुमा ? वर्ष ०७५ ले छलफल गर्नैपर्ने प्रश्न छाडेर गएको छ । इतिहासमा बोली होइन कर्म लेखिन्छ भन्ने तथ्य प्रधानमन्त्रीज्यूलाई पुनः सम्झाउनै पर्ने भएको छ । जिम्मेवार प्रधानमन्त्रीका अभिव्यक्तिहरुमा पदीय उचाई अनुरुपको गरिमा हुन के जरुरी छैन ? टेलिभिजनमा प्रधानमन्त्री बोल्न थालेपछि मनोरञ्जन प्राप्त गर्दा सम्म त ठिकै हो अन्यथा उहाँका कतिपय अभिव्यक्तिको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन टेलिभिजन बन्द गर्नु पर्ने स्थिति आउनु अत्यन्त दुःखद छ ।

Loading...