सरकारी जग्गा हडपेर छानविनमा रहेका गुरुङलाइ गृहमन्त्री बादलले गरे ‘सुप्रबल जनसेवाश्री सम्मान’ सिफारिस

काठमाडौं । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’ बाट सुशोभित हुने भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवाश्री–तृतीय’ पदकबाट सुशोभित हुने छन्। यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन्। गुरुङसहित २ दर्जन बढी व्यापारी, भूमाफिया तथा कर्मचारी सरकारी ललितानिवासको १ सय १३ रोपनी ३ आना हिनामिना प्रकरणमा छानबिनमा छन्।

गृह मन्त्रालयका अनुसार सुप्रबल जनसेवाश्री–तृतीय पाउनेको सूचीमा गुरुङको नाम ७२ औं नम्बरमा छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको विभूषण छनोट समितिको सिफारिसअनुसार गुरुङसहित विभिन्न पेसा÷व्यवसायमा संलग्न ९६ जना आइतबार सुप्रबल जनसेवाश्री तृतीयबाट सुशोभित हुँदैछन्। पदक छनोट समितिमा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक बिना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राध्यापक इन्दजित राई, हरिहर शर्मा, इन्जिनियर कासेन्द्रप्रसाद यादव, नेपाली सेनाका पूर्व उपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृहसचिव प्रेमकुमार राई सदस्यसचिव छन्।

सरकारकै छानबिनको दायरामा रहेका व्यक्तिलाई पदक प्रदान गर्न लागिएकोमा एक सचिवले असन्तुष्टि पोखेका छन। ‘सार्वजनिक सम्पत्ति हिनामिनामा संलग्न व्यापारी गुरुङलाई पदक दिनु हुँदैन भन्ने हाम्रो पनि धारणा हो, तर छनोट समितिको निर्णय नै अन्तिम हुन्छ,’ ती सचिवले भने, ‘गुरुङको नाम असोज ३ गते सिफारिस भए पनि आरोप लागेपछि संशोधन गर्नुपथ्र्यो।’ सरकारको आलोचना गरेपछि पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई सिफारिस गरिएको पदक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै मन्त्रिपरिषद् बैठकले खोसेको थियो। केही दिनअघि मात्रै बसेको मन्त्रिपरिषद् बैठकले भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पक्राउ परेका जिल्ला प्रशासन कार्यालय भक्तपुरका शाखाअधिकृत कैलाश मातक्षे श्रेष्ठलाई सिफारिस गरिएको प्रबल जनसेवाश्री पदक पनि खोसेको थियो।

‘सरकारको आलोचना गर्ने र भ्रष्टाचारमा पक्राउ परेका व्यक्तिको पदक खोस्दा सरकारी सम्पत्ति हिनामिनामा छानबिन भइरहेका व्यक्तिलाई विभूषित गर्नु सरकारकै लागि असुहाउँदो भएको टिप्पणी मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले गरे। सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिनाका आरोपितलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्। तर मन्त्री बाँस्कोटाको भनाइविपरीत प्रहरी अनुसन्धानमा रहेका गुरुङ पदकबाट पुरस्कृत हुन लागेका हुन्।

गृह मन्त्रालयका अनुसार नेपाल रत्न पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) तथा गजेन्द्रनारायण सिंह (मरणोपरान्त), सत्यमोहन जोशी, राष्ट्रकवि माधवप्रसाद घिमिरे र अम्बर गुरुङ (मरणोपरान्त) लाई महाउज्ज्वल राष्ट्रदीप प्रदान गरिँदै छ। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम), उज्जवल कीर्तिमय राष्ट्रदीप (द्वितीय) बाट डा. बालकृष्ण पोखरेल (मरणोपरान्त) र जगमान गुरुङ, सुकीर्तिमय राष्ट्रदीप (तृतीय) दिनेश अधिकारी, हरिप्रसाद रिमाल (मरणोपरान्त) र दिनेशराज पन्तलाई प्रदान गरिँदै छ। कीर्तिमय राष्ट्रदीप चतुर्थ साहित्यकार झमक घिमिरेलाई प्रदान गरिने भएको छ। प्रबल जनसेवाश्री चतुर्थबाट एक सय ६० जना र जनसेवाश्री पञ्चमबाट ७४ जना सम्मानित हुँदै छन्।

Loading...