यसरी हरायो यू–१९ नेपाली टिमले सिंगापुरलार्इ

काठमाडौं, ३ साउन । स्पिनरद्वय सन्दीप लामिछाने र साहब आलमले एकआपसमा ८ विकेट बाँडेपछि नेपालले यु–१९ विश्वकप एसियाली छनोट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। सोमबार नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो।

कप्तान सन्दीपले ५ तथा डेब्यु गरेका साहबले ३ विकेट लिएपछि सिंगापुर क्रिकेट क्लबमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको सिंगापुरले २९ ओभरमा ७३ रन जोड्दा सबै विकेट गुमाएको थियो। ७४ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।

सन्दीपले ८ ओभरमा २ मेडनसहित २१ रन दिएर ५ विकेट लिए। ६ ओभर बलिङ गरेका साहबले १ ओभर मेडन राख्दै १२ रन दिएर ३ विकेट लिए। सन्दीप र साहबलाई मध्यम गतिका बलर किशोर महतोले साथ दिए। किशोरले ६ ओभरमा ३ मेडनसहित २५ रन दिएर २ विकेट लिए।

सन्दीपले अग्रपंक्ति तथा मध्यक्रमका ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएपछि सिंगापुरले ठूलो साझेदारी गर्न सकेन। घरेलु टोलीले २७ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो। सन्दीपले ११ रन बनाएका ओपनर सिन अग्रवाल, सिद्धान्त (४), जनक प्रकाश (०), हनसुल दीप (१), आर्यमन सुनिल (०) को विकेट लिएका थिए।

ब्रिगु इएर र विक्रमवीर विस्वारेले सिंगापुरको इनिङ उकास्ने प्रयास गरेका थिए। दुईले आठौं विकेटका लागि २४ रनको साझेदारी गरे। साहब आलमले विक्रमवीरलाई ३ रनमा पवेलियनको बाटो देखाए।

लगत्तैको अर्को स्पेलमा साहबले आहन गोपीनाथ अचर (२) लाई सन्दीपमार्फत क्याच गराए। त्यसपछि पनि ब्रिगुले अंश भारगाबासँग दशौं विकेटका लागि १९ रनको साझेदारी गरेका थिए। ३९ बलमा ६ चौका र १ छक्कासहित ४२ रन जोडेका ब्रिगुलाई किशोरले बोल्ड गरेपछि सिंगापुर ७३ रनमा अलआउट भएको थियो। नेपालका प्रशिक्षक विनोद दासले बलरको प्रसंशा गर्न छुटाएनन्।

‘आज बलिङ र फिल्डिङ पक्ष उत्कृष्ट रह्यो। सन्दीप र शाहबले राम्रो गरे। विशेषगरी शाहबले। उनको आज डेब्यु थियो। तर परिपक्क प्रदर्शन गरे,’ प्रशिक्षक दासले भने, ‘तर ब्याटिङ सोचेजस्तो हुन सकेन। ब्याटिङमा हामीले जति गर्न सक्थ्यौं त्यती गर्न सकेनौं।’

जितका लागि ७४ रनको सानो स्कोर पछ्याएको नेपालले ६ विकेट गुमाएको थियो। दोस्रो ओभरमै ओपनर सन्दीप सुनारलाई गुमाएको नेपालले चौथो ओभरमा आसिफ शेखलाई पनि गुमायो।

सन्दीप सुनारलाई हनसुल दीपमार्फत क्याच गराएका आर्यमन सुनीलले आसिफलाई युवराज सिंहको हातबाट क्याच गराएपछि नेपाल दबाबमा परेको थियो। तर, प्रनित थापामगर र उपकप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि २४ रनको साझेदारी गर्दै दबाब चिर्ने प्रयार गरे।

१२ बलमा २ रन जोडेका दीपेन्द्र रोहनको बलमा एलबिडब्लु आउट भए। त्यसपछि अनिल शाहसँग चौथो विकेटका लागि ११ रनको साझेदारी गरेका प्रनितलाई अंशले बोल्ड गरे।

प्रनितले २६ बलमा ३ चौकासहित २३ रन बनाए। जुन नेपाली ब्याट्सम्यानले बनाएको सबैभन्दा ठूलो स्कोर हो। त्यसपछि अनिलले विकेटकिपर प्रकाश केसीसँग पाँचौं विकेटका लागि १९ रनको साझेदारी जितको आधार खडा गरे।

२२ बलमा तीन चौकासहित १९ रन बनाएका अनिललाई पनि अंशले बोल्ड गरेका थिए। रोहितकुमार पौडेल ११ रनमा अविजित रहे। विजयी चौका प्रहार गरेका पवन सर्राफ ४ रनमा अविजित रहे। नेपालका प्रशिक्षक दासले सिंगापुरको पिच ब्याटिङ मैत्री नभएकाले प्रतिक्रिया दिए।

‘हामीले एक महिना भारतमा अभ्यास गर्‍यौं। जुन पिच ब्याटिङका लागि राम्रो थियो। जहाँ हाम्रो खेलाडीले राम्रो पनि गरे,’ ७४ रनका लागि ६ विकेट गुमाउनुपरेको बारे प्रशिक्षक दासले भने, ‘तर, यहाँको पिच फरक छ। अलि ओसिलो भएकाले ब्याटिङका लागि गाह्रो भयो। बाँकी खेलमा हामीले राम्रो गर्नु आवश्यक छ।’

मलेसियाविरुद्ध टोलीमा हुन सक्ने परिवर्तनबारे प्रशिक्षक दासले भने, ‘आज हाम्रो पहिलो खेल थियो। अगामी खेलमा राम्रो गर्नेछौं। भोली पिचको अवस्था हेरेर मलेसियाविरुद्धको टोलीबारे थाहा हुन्छ।’

जितसँगै २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। मलेसियालाई ८ विकेटले हराएको अफगानिस्तान शीर्ष स्थानमा छ। सोमबारै इन्डियन एसोसिएसन ग्राउन्डमा भएको अर्को खेलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मलेसियाले २१.५ ओभरमा सबै विकेट गुमाएर ५३ रन मात्र बनाउन सक्यो।

मलेसियाका कप्तान विरनदीप सिंहले १९ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। मलेसियाको तल्लो क्रमका ६ ब्याट्सम्यान शून्यमै पवेलियन फर्किए। अफगानिस्तानका युसुफ जाजाईले ४ विकेट लिँदा मुजीव जद्रानले तीन विकेट हात पारे। जाहिर खानले २ विकेट लिँदा शामसुर रहमनको नाममा १ विकेट रह्यो।

५४ रनको लक्ष्या अफगानिस्तानले ५.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। अफगानिस्तानका इमरान मोहमदी र तारिक स्टानिकजाई शून्यमा पवेलियन फर्किए। दुवैलाई सेद अजिजले बोल्ड गरेका थिए। अफगानिस्तानको नाभिद आबैद १८ तथा दर्विश रासुली ३२ रनमा अविजित रहे। नेपालले अब मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले सिंगापुरविरुद्ध खेल्नेछ।

Loading...