प्रहरीसँगको झडपमा एमालेको विद्यार्थी संगठनका उपाध्यक्ष र महासचिव घाइते

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।  
 
अनेरास्ववियुले आज दिउँसो गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवको पुत्लासहित प्रदर्शन गरेपछि झडप भएको हो ।   
 
त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्री देउवा र प्रमुख निर्वाचन आयुक्त यादवको पुत्ला प्रहरीले खोसेपछि झडप भएको अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालले जानकारी गराए । 
 
पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो । पछि विद्यार्थीले पनि ढुङ्गा हान्न थालेपछि प्रहरीबाट अश्रुग्यास प्रहार गरिएको थियो । अश्रुग्यास प्रहारपछि विद्यार्थी तितरवितर भएका थिए । 
 
लाठी प्रहारबाट अनेरास्ववियुका उपाध्यक्ष महेश बर्ताैला र महासचिव ऐन महर घाइते भएका छन् । 
 
बर्तौलाको टाउको र महरको खुट्टामा चोट लागेको छ । बर्तौलाको टाउकामा १७ वटा टाँका लगाइएको सचिव समीक बडालले जानकारी दिए । दुबैको प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडल अस्पतालमा उपचार भइरहेको छ । 

 

Loading...