भक्तपुर बस्थे आत्मदाह गरेका नेपाली, जेटिएको जागिर नपाएपछि पठाओ राइडर

भक्तपुर । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आत्मदाहको प्रयास गरेका र उपचारका क्रममा निधन भएका २५ वर्षीय गणेश नेपाली भक्तपुरको कमलबिनायक क्षेत्रमा डेरा गरी बस्दै आएको खुलेको छ।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका नेपाली भक्तपुर नगरपालिका–१० कमलबिनायकस्थित चाँगुनारायण पेट्रोल पम्प नजिक रञ्जित भण्डारीको घरमा पछिल्ला करिब दुई महिनादेखि परिवारसहित बस्दै आएका थिए। उनी श्रीमती र करिब चार वर्षीया छोरीसँग भुइँतलाको एउटा कोठामा बसोबास गर्दै आएका थिए।

घरबेटी भण्डारीका अनुसार नेपालीले श्रीमतीलाई बागेश्वरी क्याम्पसमा अध्ययन गर्न सहज हुने भएकाले उक्त स्थानमा कोठा लिएका थिए। उनी नियमित रूपमा घरभाडा बुझाउने, शिष्ट र जिम्मेवार व्यक्तिका रूपमा चिनिन्थे। जेटिए (JTA) अध्ययन गरेका नेपालीले सोही क्षेत्रमा रोजगारी नपाएपछि पठाओ चलाएर जीविकोपार्जन गरिरहेका थिए।

नेपालीको मृत्युको खबरले आफू र परिवार स्तब्ध बनेको घरबेटी भण्डारीले बताए। “उनी हाम्रो परिवारकै सदस्यजस्तै थिए। यस्तो घटना होला भन्ने कल्पना पनि गरेका थिएनौं। उनको निधनको पीडाले हामी अझै सामान्य हुन सकेका छैनौं,” उनले भने।

स्थानीय केएम बाइक सर्भिसका सञ्चालक किरण बुढाथोकीका अनुसार नेपाली मिलनसार, मिहिनेती र सहयोगी स्वभावका युवा थिए। घटना हुनुभन्दा दुई दिनअघि मात्रै उनी मोटरसाइकल मर्मत गराउन आफ्नो वर्कसपमा आएको स्मरण गर्दै उनले श्रम गरेर जीवन धान्ने नागरिकलाई यस्तो अवस्थामा पुग्न बाध्य बनाउने परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरे।

स्थानीय बासिन्दा तथा अर्थ–राजनीतिका विश्लेषक एवं समाजवादी नेता डिपी ढकालले यो घटना राज्यका लागि गम्भीर चेतावनी भएको बताए। उनका अनुसार श्रम गरेर बाँच्न खोज्ने नागरिक निराशाको चरम अवस्थामा पुग्नु राज्यको असफलताको संकेत हो। सरकारले रोजगारी, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।

घटनापछि स्थानीयवासीले सरकारलाई पीडित परिवारप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्। उनीहरूले मृतककी श्रीमतीलाई उपयुक्त रोजगारीको व्यवस्था गर्न तथा नाबालिका छोरीको शिक्षा र भविष्यको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेका छन्।