काठमाडौं । प्रतिनिधिसभा सदस्य ज्ञानेद्र शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरिरहेको गतिविधि “आतङ्कवादी शैली” को भएको टिप्पणी गरेका छन्।
मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै ज्ञानेन्द्र शाहीले सत्ता स्थायी नहुने भन्दै सरकारलाई हेक्का राख्न चेतावनी दिएका हुन्।
‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ । तर सरकार सरकार हो कि आतङ्कवादी हो ?’ उनले प्रश्न गरे।
उनले मानवीय संवेदनामाथि डोजर चलाएर विकास सम्भव नहुने उल्लेख गर्दै सत्ता र शक्तिको आडमा कसैलाई संरक्षण नगर्ने हो भने मन्त्रीहरूको घरमा किन डोजर नचलाइएको भन्दै प्रश्न उठाए।
सुकुम्वासी हटाउने क्रममा दुई नागरिकको ज्यान गएको उल्लेख गर्दै उनले नागरिकको ज्यान जोगाउने जिम्मेवारी सरकारको होइन र ? भन्दै सरकारमाथि आक्रोश व्यक्त गरे।






