काठमाडौँ । रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई “महत्त्वाकाङ्क्षी र अराजक जमातको अस्थायी गठजोड” भन्दै तीखा टिप्पणी गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा दलीय हैसियतले बोल्दै एमाले संसदीय दलका नेता बादलले रास्वपा सरकारको नीति, नेतृत्व र राजनीतिक दिशामाथि प्रश्न उठाएका हुन्।
उनले संसद्को अधिवेशन स्थगित गरेर आठ वटा अध्यादेश ल्याउनुको उद्देश्य प्रशासनतन्त्र र न्यायतन्त्रमाथि एकल प्रभुत्व कायम गर्नु रहेको आरोप लगाए। बादलका अनुसार सरकारको कदम लोकतान्त्रिक अभ्यासभन्दा शक्ति केन्द्रित गर्ने रणनीतितर्फ उन्मुख देखिएको छ।
रास्वपाको उदयबारे टिप्पणी गर्दै उनले उक्त पार्टीको सफलता दशकौँदेखि सत्तामा रहेका दलहरूको कमजोरी, “एआई जादु” र विश्व भू–राजनीतिक प्रभावको परिणाम भएको दाबी गरे।
वैशाख २८ गते राष्ट्रपतिबाट सार्वजनिक गरिएको सरकारको सयबुँदे नीति तथा कार्यक्रम उल्लेख गर्दै बादलले आगामी निर्वाचनमार्फत राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहसम्म रास्वपाको एकल नेतृत्व स्थापित गर्ने लक्ष्य रहेको आरोप लगाए।
“यो लक्ष्य पूरा भएपछि रास्वपाको कथित निलो क्रान्तिले पूर्णता पाउनेछ,” उनले भने।
बादलले रास्वपालाई कुनै स्पष्ट विचारधारामा आधारित दल नभई लोकप्रियतावादको दलदलमा उभिएको अस्थिर राजनीतिक शक्ति भएको टिप्पणी गरे।
“यो चरम अवसरवाद र अस्थिर प्रवृत्ति हो। रूपमै हेर्दा आकर्षक देखिए पनि सार र परिणाममा घातक हुन्छ,” उनले भने, “यो भ्रम र विरोधाभासको दर्शन हो।”
सम्बोधनका क्रममा उनले सरकारको नीति तथा कार्यक्रममाथि पनि प्रश्न उठाए। लिपुलेक, टीओभी काण्ड, शिक्षक तथा पेशाकर्मीका अधिकार, ऋण लिएर गरिने विकास मोडललगायत विषयमा सरकार मौन रहेको भन्दै उनले दर्जनौँ प्रश्न उठाएका थिए।







