रास्वपा र सेनामाथिको टिप्पणीले विवाद, बादलको भनाइ हटाउन माग

काठमाडौँ । रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा राखेको अभिव्यक्तिप्रति दुई सांसदले नियमापत्ति गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बादलले नेपाली सेनासम्बन्धी गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मनिष झा र खुश्बु ओलीले नियमापत्ति गरेका हुन्।

दुवै सांसदले संसद्मा दिएको अभिव्यक्ति संसदीय मर्यादा र संवेदनशील संस्थाको गरिमाविपरीत रहेको दाबी गर्दै उक्त टिप्पणी संसद्को रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरेका छन्।

रास्वपा सांसद मनिष झाले सेनासम्बन्धी टिप्पणी मात्रै नभई आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीबारे पनि बादलले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए। जनताबाट अनुमोदित राजनीतिक शक्तिप्रति गरिएको टिप्पणी अस्वीकार्य रहेको उनको भनाइ थियो।

सभामुखले नियमापत्तिपछि संसद्को रेकर्ड अध्ययन गरेर आवश्यक निर्णय गरिने बताएका छन्।