भक्तपुुर । भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको दशौं संस्करण सम्पन्न भएको छ।
नयाँ वर्ष एवं बिस्का जात्राको अवसरमा भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा ११ दिनसम्म चलेको महोत्सव सोमबार साँझ सम्पन्न भएको हो ।
समापन समारोहमा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले औद्योगिक शान्ति नेपाल संस्थाले महोत्सवलाई निरन्तरता दिँदा स्थानीयवासीलाई सुविधा भएको बताए । “रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा गर्न समेत महोत्सवले टेवा पुगेको छ।” नगरप्रमुख थापाले भने ।
समापन समारोहका विशेष अतिथि नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले महोत्सव मनोरञ्जन र प्रतिभा प्रस्फुटनको मञ्च समेत बनेको बताए । भक्तपुरको साँस्कृतिक तथा पर्यटकीय गतिविधीलाई बढाउन महोत्सवले ऐतिहासिक सफलता प्राप्त गरेको उनको भनाइ छ।
महोत्सवमा नृत्य प्रतियोगिता समेत सम्पन्न गरिएको थियो।प्रतियोगीतामा रतिश गिरी प्रथम हुदैं नगद रु. २० हजार पुरस्कार प्राप्त गरेका छन् । दोस्रो स्थानमा अन्नी तामाङले नगद १० हजार, तेस्रो स्थानकी स्प्रीका शाहीले ५ हजार नगद पुरस्कार प्राप्त गरिन् ।
रम्बो तामाङ र रेविका लामाले सान्तवना स्वरूप जनही २ हजार ५ सय नगद पुरस्कार पाएका महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए। । उक्त अवसरमा समय समाज साप्ताहिककी पत्रकार सिर्जना खतिवडालाई नगद रु. ५ हजारसहित सम्मान गरिएको थियो।
सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्न,लत्ताकपडाहरुका साथै कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, ब्यापार र पर्यटन प्रवद्र्धन गर्ने १८० स्टप स्टलहरु रहेको महोत्सवमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउँ तथा बच्चाको खेलौना, कोलम्बस, जादु लगायतको आकर्षण राखिएको महोत्सव स्थलमा मुख्य आकर्षणको रुपमा लन्डन ब्रिजको प्रतिकृति बनाइएको थियो ।
महोत्सव करिब दुई लाखले अवलोकन गरेका र ३ करोड बढी कारोबार भएको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए।







