आयुर्वेदकर्मीलाई सिपिआर अभ्यास

भक्तपुर । आयुर्वेद तथा बैकल्पिक चिकित्सालय भक्तपुरका स्वास्थ्यकर्मीलाई सिपिआर अभ्यास गराइएको छ । मुटु र फोक्सोले अचानक काम गर्न छोडे पुर्नजीवन दिने प्राथमिक उपचारका रुपमा सिपिआर विधिको अभ्यास गराइएको हो ।

बिहीवार यसबारे अभ्यास गराउंदै डा ज्योति शाहले अचानक श्वास रोकिएको र नाडी नचलेको अवस्थामा सिपिआर विधिबाट मानिसको ज्यान जोगाउन सकिने तरीका सिकाइन ।

डा शाहका अनुसार यो छाति थिच्ने र श्वास दिने आपतकालिन बिधि हो । प्रत्येक दुई सेकेन्डमा एकपटक छातिको बीचमा दुईदेखि साढे दुई इन्च भित्रसम्मको थिचाई अर्थात एक मिनेटमा १ सय देखि १ सय २० पटक सम्म छाति थिच्ने र प्रत्येक ३० सेकेन्डमा बिरामीको नाक थुनी मुखबाट श्वास दिने बिधि नै सिपिआर बिधि भएको उनले बताईन् ।

छाति थिच्दा बयस्क व्यक्तिलाई दुवै हातले, बालबालिकालाई एक हातले र शिशुलाई दुई औलाको बलले मात्र थिच्नुपर्ने उनले प्रष्ट पारेकी छन् ।

चिकित्सालयका प्रमुख डा नदन कडेलले छिमेकी राष्ट्र चीनमा हरेक नागरिकलाई सिपिआरको ज्ञान अनिवार्य भएको उल्लेख गर्दै नेपालमा पनि नागरिकतहसम्म यसबारे तालिम दिनुपर्नेमा जोड दिए ।

चिकित्सालयले पढेको कुरालाई व्यवहारमा उतार्न र स्वास्थ्यकर्मीबिच ब्यापक छलफल र अनुभव आदानप्रदान गर्न कार्यक्रम सफल रहेको बताए ।

चिकित्सालयले प्रत्येक १५ दिनमा मेडिकलका फरकफरक विषयमा छलफल र अनुभव आदान प्रदान मार्फत पुनर्ताजगी कार्यक्रम गर्दै आएको समेत उनले जानकारी गराए ।

बिहीवारको कार्यक्रममा चिकित्सालयका १४ स्वास्थ्यकर्मी सम्मिलित रहेका थिए । उनीहरुले मस्तिष्कमा अक्सिजन अपुग्दा ६ मिनेटमै क्षति हुनसक्ने भएकाले सिपिआर विधिबारे मानिसहरुलाई ज्ञान बाढ्नपर्ने आवश्यकता औल्याए ।

सामान्य व्यक्तिले पनि सजिलै सिक्न सक्ने र व्यवहारमा उतार्न सक्ने यो विधिले ९५ प्रतिसत अवस्थामा मानिसको ज्यान बचाउन मद्दत पुग्ने बताइएको छ ।