गगन नेतृत्वको कांग्रेसलाई सर्वोच्चको मान्यता

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकताको विवादमा सर्वोच्च अदालतले महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गर्दै शेरबहादुर देउवा पक्षधरको दाबी अस्वीकार गरेको हो।

न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको कार्यसमितिलाई वैधानिक मान्यता दिएको फैसला सुनाएको हो।

यससँगै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट निवेदन खारेज भएको छ।

यसअघि देउवा पक्षधरले पार्टीभित्रको विवाद समाधान नभएसम्म १५औँ महाधिवेशनको कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै २६ चैतमा सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमार्फत महाधिवेशनको कार्यसूची तत्काल रोक्नुपर्ने माग गरिएको थियो।

निर्वाचन आयोगले माघ २ गते गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा पक्ष असन्तुष्ट बन्दै उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको थियो।