जोयल्याण्डको दीक्षान्त समारोह सम्पन्न, संस्कारयुक्त सिकाइमा जोड

घनश्याम वाग्ले, भक्तपुर । सूर्यविनायक ४ स्थित जोयल्याण्ड मन्टेश्वरी स्कूलको वार्षिक दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ । 

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं अन्नपूर्ण मिडियाका प्रधानसम्पादक बालकृष्ण बस्नेतले बालबालिका विद्यालयका विद्यार्थी र अभिभावकका सन्तान मात्र नभई राष्ट्रको भविष्य समेत भएका बताए ।

“परिवार र समाज परिवर्तन नभई राजनीतिक परिवर्तनले मात्र देश बिकास हुदैन ।”  बस्नेतले भने, “परिवार, समाज र देशलाई उत्तिकै माया र सम्मान गर्ने जनशक्ति तयार गर्नु हामी सबैको दायित्व हो ।”

उनले बालबालिकालाई पुस्तक केन्द्रीत मात्र नभई हरेक बिषयमा जिज्ञासु बनाउनु पर्नेमा जोड दिए । बालबालिकाको पहिलो पाठशाला घर भएकोले घरबाटै समाज र देशप्रति आदर र सम्मान सिकाउन उनले अभिभावकलाई सुझाव दिएका थिए ।

विद्यालयकी प्रधानाध्यापक सुनिता शाहले बालाबालिकाकलाई मन्टेश्वरी विधिबाट सिकाई क्रियाकलाप गरिएको र सबै बालबालिकालाई उनीहरुको रुची र गति अनुसार विद्यालयले सिकाइ वातावरण बनाएको बताइन ।

विद्यालयकी संचालक नानु बस्नेतले ८ वर्ष अघि स्थापित जोयल्याण्ड मन्टेश्वरी स्कूलले सामान्य विद्यालय भन्दा फरक रही बालकेन्द्रीत सिकाइमा जोड दिइरहेको जानकारी दिइन ।

त्यसैगरी अभिभावक प्रतिनिधि सिर्जना राई र मणी गौतम लगायतले खेल्दै सिक्दै गर्ने थलोको रुपमा विद्यालयले असल अभ्यास गरिरहेको टिप्पणी गरे । कार्यक्रममा स्थानीय शिक्षासेवी डा रामचन्द्र शर्मा, नेपाल पत्रकार महासंघ उपत्यकाका कोषाध्यक्ष संजीप घिमिरेको समेत आतिथ्यता रहेको थियो ।

सो अवसरमा दीक्षित विद्यार्थीलाई सम्मान र बिदाई गरिएको थियो भने विद्यार्थीहरुले आफ्ना बिबिध प्रतिभा प्रस्तुत गरेका थिए ।