राष्ट्रिय खो–खो प्रतियोगिता सुरु: दुबै समूहमा आर्मीको विजयी सुरुवात

कीर्तिपुर । कीर्तिपुरस्थित कभर्ड हलमा राष्ट्रिय स्तरको खो–खो प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमै नेपाल आर्मीले पुरुष र महिला दुबै समूहमा प्रभावशाली जित निकाल्दै प्रतियोगितामा दमदार सुरुआत गरेको छ।

आठौँ पुरुष तथा सातौँ महिला संस्करणअन्तर्गत भएको खेलमा आर्मीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे। पुरुषतर्फ आर्मीले ७ अंक जोडेको बागमती प्रदेशलाई २८ अंकको फराकिलो अन्तरले पराजित गर्‍यो। महिलातर्फ आर्मीले कोशी प्रदेशलाई शून्य अंकमा सीमित राख्दै ४२ अंकले सहज जित निकाल्यो।

अन्य खेलतर्फ कर्णाली प्रदेशले १९ अंक बनाएको प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशले २१ अंक जोड्दै झिनो अन्तरको जित हात पार्यो। महिला समूहमा लुम्बिनी प्रदेशले २ अंकमा सीमित बागमती प्रदेशलाई १० अंकले पराजित गर्‍यो।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ सात टोलीबीच प्रतिस्पर्धा हुनेछ।

उद्घाटनका क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रामचरित्र मेहताले पछिल्लो समय खो–खो खेलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान र गौरव बढाउँदै लगेको बताए।

प्रतियोगिताका विजेतालाई ७५ हजार, उपविजेतालाई ५० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै, उत्कृष्ट चेसर र उत्कृष्ट रनरलाई जनही १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल खो–खो संघका महासचिव शंकर महर्जनले जानकारी दिए।