भक्तपुरमा फेक रेस्क्यूले तनाव

भक्तपुर । भक्तपुरको सल्लाघारी चोकमा स्कूल बस र सार्वजनिक बस ठोक्किएर ‘दुर्घटना’ भएपछि स्थानीय आत्तिए। स्थानीयसमेत रहेका बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठलाई दुर्घटनाको खबरले चिन्तित मात्र बनाएन, उनले उद्धारका लागि प्रयास नै गरे ।

तर, त्यो दुर्घटना बास्तविक नभई कृत्रिम अभ्यास मात्र थियो ।
अभ्यास सम्बन्धि कुनै ब्यानर नहुँदा दुर्घटनाले केही बेर मानिसलाई बिचलित बनाएको थियो ।

“विद्यार्थी चिच्याएको आवाजले मुटु नै चिसो भयो, धन्न काल्पनिक प्रदर्शन रहेछ ।” स्थानीय रिवेक मानन्धरले बताए ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलि त्यसैगरी आरएनए -१६ एवं रेडक्रसको टोलि उद्धार र उपचारको लागि पुगेको थियो भने एम्बुलेन्समार्फत घाइते देखाइएका विद्यार्थीलाई भक्तपुर अस्पताल पुर्‍याइएको थियो ।

दुधपाटीस्थित लिटिल वर्ल्ड माविका विद्यार्थीहरु घाइतेका रुपमा अभ्यासमा सहभागी भएका थिए । विद्यालय पोसाकमा घाइते भन्दै एम्बुलेन्सबाट अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको देख्नेहरुले चिन्तापूर्वक सो विद्यालयका शिक्षक र अभिभावकलाई दुर्घटनाबारे खबर गरेका थिए ।

वर्षेनी हुने विपद प्रतिकार्यको यस अभ्यासले सम्भावित विपदको समयमा प्रभावकारी रूपमा सेवा दिन सहयोग पुग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अस्पतालको तयारी र विपद बहन गर्न सक्ने क्षमता मापन गर्न पनि यसले सहयोग पुर्याएको भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्ट बताउँछन् ।

आगामी दिनमा भने यस्ता अभ्यास गराउँदा अभ्यास भइरहेको भन्ने सार्वसाधारणले समेत थाहा पाउने ब्ववस्था गर्न स्थानीयले सुझाव दिएका छन् ।