भक्तपुरका युवाको अठोट -दुई अतिवाद अन्त्य गर्न तारामा भोट

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भक्तपुरका युवाले दुई अतिवाद अन्त्य गर्न तारामा मतदानको अठोट गरेका छन् । 

शनिबार निर्वाचन लक्षित विशेष युवा भेलामा सहभागिता जनाउँदै उनीहरूले जनयुद्ध र जनआन्दोलन हुँदै जेनजी आन्दोलनसम्मको माग सम्बोधन गर्न सक्ने र तरल राजनीतिलाई निकास दिनसक्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी मात्र भएको निष्कर्ष निकाले ।

कार्यक्रममा जेनजी युवा नेता आकाश गजुरेलले आन्दोलन दबाउने र भड्काउने दुई प्रवित्तिलाई जेनजीहरुले चिनिसकेको जिकिर गर्दै सबैखाले अधिकारको लागि लड्ने नेपाली कम्युनिस्ट पार्टी र यसका संयोजक प्रचण्डले मात्र देशलाई सही दिशा दिनसक्नेमा जोड दिए ।

अर्का नवयुवा नेता सागर बनमालाले सामाजिक संजाल हेरेर होइन, समाजमा गरेको योगदान हेरेर मतदान गर्नुपर्ने कुरा आफूहरूले मतदातालाई बुझाउने बताए । “नयाँको भ्रम दिएर मतदाता झुक्याउनेहरु सफल हुनेछैनन ।” उनले भने, “बिचार, कार्यदिशा र क्षमताले अहिलेसम्म नेकपा नै नयाँ शक्ति हो ।”

भेलामा युवा नेता ओमकृष्ण कुटुले युवा वर्गलाई उत्पादन र बिकासमा जोड्न सक्ने युवा नेतालाई नेकपाले उम्मेदवार बनाएकोले आफूहरू उत्साहित रहेको उल्लेख गरे भने अर्का युवा नेता प्रदीप तजले युवा वर्गको असल प्रतिनिधि नैतिकवान एवं इमानदार उम्मेदवार नेकपाको मात्र भएको दावी गरे ।

भेलाले युवा परिचालनको योजना बनाएको र एक मतदान केन्द्रमा कम्तिमा एक सय जना युवा केन्द्रीत गरि पार्टी र उम्मेदवारको प्रचार गरिने वाइसीएल भक्तपुरका युवा नेता सुरेन्द्र सुवालले बताएका छन् ।

भेलालाई सम्बोधन गर्दै भक्तपुर-२ का उम्मेदवार रामप्रसाद सापकोटा दीपशिखाले अहिलेको निर्वाचनमा ‘पुरानो’ र ‘नयाँ’का नाममा दुई अतिवादी प्रवृत्ति सक्रिय देखिएको उल्लेख गरे। ती दुवै प्रवृत्ति राष्ट्र, जनजीवन र लोकतान्त्रिक परिवर्तनका लागि घातक रहेको उनको भनाइ थियो।

“भदौ २३ गते निर्दोष जेन–जी युवाहरूको ज्यान लिने एक प्रवृत्ति देखियो भने त्यसैलाई आधार बनाएर भदौ २४ गते विध्वंस मच्चाउँदै आफ्नो राजनीतिक स्वार्थ साध्ने अर्को प्रवृत्ति पनि देखापर्‍यो,” उनले भने, “यी दुवै अतिवाद देशका लागि खतरा हुन्।”

दीपशिखाले यस्ता प्रवृत्तिको अन्त्य गर्न जनताले स्पष्ट निर्णय लिनुपर्ने बेला आएको उल्लेख गर्दै नेपाली कम्युनिस्ट पार्टीलाई स्पष्ट बहुमतका साथ विजयी गराउन आवश्यक रहेको बताए। “दुई अतिवादी प्रवृत्तिको अन्त्य र परिवर्तनको रक्षा गर्न तारामा मतदान गर्नुको विकल्प छैन,” उनले जोड दिए।

कार्यक्रममा उनले वर्तमान परिवर्तनको संवाहक नेपाली कम्युनिस्ट पार्टी भएको दाबी गर्दै संविधान, लोकतान्त्रिक उपलब्धि र जनताको अधिकारको रक्षा गर्ने जिम्मेवारी आफ्नो पार्टीले मात्र पूरा गर्न सक्ने बताए।

उनले युवाहरूलाई भ्रम र सामाजिक सञ्जालका गलत प्रचारबाट सचेत रहँदै जनताको पक्षमा उभिन आह्वान समेत गरे।

सोही अवसरमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार अधिवक्ता हरिराम लवजूले भक्तपुरका ऐतिहासिक सम्पदाको पुनर्निर्माण मात्र नभई ती सम्पदाबाट स्थानीय जनतालाई प्रत्यक्ष आर्थिक लाभ दिने स्पष्ट योजना पार्टीसँग रहेको बताए।

भक्तपुरको आर्थिक स्तर उकास्न हालसम्म जनप्रतिनिधिहरू असफल भएको टिप्पणी गर्दै उनले संसदमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न मात्र नभई  सत्तापक्ष तथा केन्द्रसँग पहुँच राख्न सक्ने हैसियत आफूमा रहेको दाबी गरे।

कार्यक्रममा पार्टीका समानुपातिक उम्मेदवार दिलिप प्रजापति ‘भीष्म’ले जनयुद्ध र जनआन्दोलनबाट बाँकी रहेका कार्यभार पूरा गर्ने र वर्तमान परिवर्तनलाई संस्थागत गर्ने क्षमता नेपाली कम्युनिस्ट पार्टीसँग मात्रै रहेको जिकिर गरे।

उनले प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियान, सुशासन र समाजवादतर्फको यात्रालाई सफल बनाउन श्रमजीवी, बुद्धिजीवी तथा सचेत नागरिकले तारामा मत दिनु अपरिहार्य रहेको बताए।

केन्द्रीय सदस्य डीपी ढकालले निर्वाचनमा सामाजिक सञ्जालको हल्ला र आवेगको पछि नलागी विवेक प्रयोग गर्न मतदातालाई आग्रह गरे।

पार्टी र उम्मेदवारको चरित्र, विचार, व्यवहार र प्रतिबद्धता मूल्याङ्कन गरेर मात्रै मतदान गर्नुपर्नेमा उनले जोड दिए। जनताले विवेकपूर्ण निर्णय लिएमा नेपाली कम्युनिस्ट पार्टी बहुमतका साथ विजयी हुने उनको दाबी थियो।

युवा नेतृ अञ्जना पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त युवा भेलामा बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठ, प्रदेश सभाकी पूर्व सदस्य प्रतिमा श्रेष्ठ, नेताहरु सुनिल गोठे बासु, श्यामसुन्दर बस्नेत, भवानी खड्का, नगरका पदाधिकारीहरूका साथै युवा नेताहरु नरेश रञ्जित, राजु कुटु, रोशन बासुकला लगायत सयौं युवाहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम सञ्चालक सरराज उप्रेतीले जानकारी दिए।

कार्यक्रममा देशलाई अमनचयन र अग्रगमन तर्फ लैजान तारामा मतदाता गर्नुपर्ने भन्ने नागरिक सचेतना फैलाउन युवाहरुलाई अपिल गरिएको थियो ।