भक्तपुर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार विरुद्ध उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजिव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक विरुद्ध उजुरी परेको हो ।
क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएका सूर्यविनायक- ९ महतगाउँका सविन महतले दुबै उम्मेदवार बिरुद्ध उजुरी दर्ता गराएका हुन् ।
रास्वपा उम्मेदवार खत्रीले पेश्की फस्यौट नगरी बेरुजु बाँकी रहेको र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकले नागरिकता किर्ते गरेको भन्दै उजुरी उनले उजुरीमा उल्लेख गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी दिने र उजुरीमा परेका उम्मेदवारहरुलाई बिहिवार बिहान १० बजे कार्यालयमा सबुत प्रमाणसहित उपस्थित हुन सूचना समेत जारी गरेको छ । तोकिएको समयमा उपस्थित नभए कानून बमोजिम हुने समेत कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा दलतर्फ १७ र स्वतन्त्र १५ गरी ३२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अन्तिम नामावली शनिबार प्रकाशन हुने निर्वाचन कार्यतालिका रहेको छ ।







