
भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। यसै क्रममा भक्तपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ मा २५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालय श्रोतका अनुसार भक्तपुर–१ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फका उम्मेदवारहरूको सहभागिता रहेको छ।
सबैभन्दा पहिले पुगी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुकेश रञ्जितले उम्मेदवारी दर्ता गराएका छन् । उनी भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित महासचिव समेत हुन् ।
त्यसपछि स्वतन्त्र उम्मेदवारहरु क्रमशः सुजिता बुढाथोकी, विष्णुराम दुमरु र राजेश्वरी प्रजापतिले उम्मेदवारी दर्ता गराए ।
आम जनता पार्टीका देवेन्द्र ठाकुरले मनोनयन दर्ता गराएपछि
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सोम मिश्रले मनोनयन दर्ता गराएका छन् । मिश्र चागुनारायण नगरपालिकाको पूर्व मेयर हुन् ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट भने रमेश बल्लले मनोनयन दर्ता गराएका छन् । त्यसपछि स्वतन्त्र उम्मेदवार सुदिप न्यौपानेले मनोनयन दर्ता गराए ।
नवौं नम्बरमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवालले मनोनयन दर्ता गराएका छन् । पार्टी सचिव समेत रहेका सुवाल यस् अघि लगातार तीन पटक प्रतिनिधि सभा सदस्य भइसकेका छन् ।
राष्ट्रिय जनमोर्चा पार्टीबाट ईश्वरी प्रसाद पैयानीले मनोनयन दर्ता गराए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट भरत बहादुर खड्काले मनोनयन दर्ता गराए । खड्का नेपाली सेनाको अवकाश प्राप्त कर्णेल हुन् ।
स्वतन्त्रबाट पुण्यराम सुवाल र राजु श्रेष्ठले समेत मनोनयन दर्ता गराएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हरिराम लवजुले मनोनयन दर्ता गराएका छन् । वरिष्ठ अधिवक्ता एवं मानवाधिकारकर्मी समेत रहेका लवजु बौद्धिक नेता मानिन्छन् ।
राजनीतिक दलको तर्फबाट महिला उम्मेदवार भने यस क्षेत्रमा मितेरी पार्टी नेपालले मात्र दिएको छ । यसका तर्फबाट सावित्री न्यौपानेले मनोनयन दर्ता गराएकी छन् ।
न्यौपाने पछि स्वतन्त्रबाट दशरथ थापा र सुरेश कोजुले मनोनयन दर्ता गराए ।
नेपालका लागि नेपाली पार्टीका तर्फबाट दिपक पोखरेल (दिपक महाराज आत्रेय) ले मनोनयन दर्ता गराउदा जसपा नेपालको तर्फबाट श्यामसुन्दर शिल्पकारले मनोनयन दर्ता गराएका छन् ।
त्यसपछि स्वतन्त्रबाट बालकृष्ण खाइतुको मनोनयन दर्ता भएको छ ।
बिप्लव नेतृत्वको नेकपा (माओवादी) का तर्फबाट युवा नेता चन्द्रमान कोजुले मनोनयन दर्ता गराउदा नेपाली कांग्रेसका तर्फबाट भने किरण न्यौपानेले उम्मेदवारी दर्ता गराए । न्यौपाने अधिवक्ता समेत हुन् ।
त्यस्तै, श्रम संस्कृति पार्टीका तर्फबाट विष्णु हरि न्हिसुतु
नेकपा (संयुक्त) बाट दामोदर पाण्डे र अन्तिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट रवि खाइजुले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरूको विरुद्ध बिहीबार उजुरी दिन सकिनेछ भने शनिबार १ बजेसम्म नाम फिर्ता लिन उम्मेदवारहरुलाई समय दिइएको छ । सो समयसीमा सकिएपछि सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताएका छन् ।
भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ मा जिल्लाका भक्तपुर र चाँगुनारायण दुई नगरपालिका पर्दछ्न ।यहाँ कूल ३७ मतदान स्थानमा १ सय १९ मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर १ मा पुरुष ५२ हजार ६६ र महिला ५४ हजार ९ सय ८८ गरी कूल १ लाख ७ हजार ५४ जना मतदाता रहेका छन् ।






