भक्तपुर । युथ इको नेपालको पहिलो साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । तदर्थ समितिका अध्यक्ष आकाश गजुरेलकै अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा सुस्मिता फाञ्जु, सचिवमा सुजन अधिकारी, कोषाध्यक्षमा अञ्जित योञ्जन र सह–सचिवमा टिकाराम खत्री रहेका छन् ।
सदस्यहरूमा भने बिपिन ङाखुसी, जोसा जर्गा मगर, उपासना गौतम, प्रसन्न कायस्थ, दिपक परियार, शितल श्रेष्ठ र जीवन पोखरेल निर्वाचित भएका अध्यक्ष आकाश गजुरेलले जानकारी गराए ।
एशियाकै सबैभन्दा ठूलो मेकअप कार्यशाला आयोजना गरी एसियाली रेकर्ड राखेको युथ इको नेपाल संस्थाले महिलाहरूका लागि ३ दिने निशुल्क नेल आर्ट तथा मेकअप तालिम समेत सम्पन्न गरेको थियो ।
राष्ट्रिय युवा परिषद लगायतसंग सहकार्य गरि यसले युवा लक्षित विभिन्न तालिम र कार्यशाला सम्पन्न गरेको छ । स्थापनाको छ महिनामै युथ इको नेपाल एक सशक्त संस्थाको रुपमा पहिचान बनाउन सफल देखिन्छ ।
साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका मध्यपुर थिमि नगरपालिका उपप्रमुख बिजय कृष्ण श्रेष्ठले युथ इको नेपाल जस्ता संस्थाहरुले युवाहरूलाई समाजसंग जोड्ने बिश्वास ब्यक्त गरे ।
युवाले बिदेशीने मनोवृत्ति त्यागी स्वदेशमै श्रम र सीप लगाउनपर्ने आवश्यकता औल्याउदै उपप्रमुख श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले युवालाई रोजगार र स्वरोजगार बनाउन विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको समेत जानकारी गराए ।
सो अवसरमा विशेष अतिथि रहेका नेपाली कम्युनिस्ट पार्टीका युवा नेता एवं संस्थाका सल्लाहकार रामप्रसाद सापकोटा दीपशिखाले युवाहरु देशको भविष्य भएको भन्दै निराशावादविरुद्ध युवाहरु उत्रनुपर्ने बताए ।
देशमा केही भएन भन्ने भाष्य बनाएर युवालाई बिदेश पलायन गराउने र देशलाई भद्रगोल बनाउन खोज्नेहरु बिरुद्ध जाइलाग्नुको बिकल्प नभएको उनको भनाइ छ ।
उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि सम्पूर्ण युवाहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने र देशमा समाजवाद स्थापना गरेर सबैलाई समान अवसर र पहुँचमा पुर्याउनुपर्ने प्रष्ट पारे ।
उद्घाटन सत्रमा संस्थाका संरक्षक नरेश रञ्जित, राष्ट्रका लागि दुई घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेल, प्रहरी निरीक्षक रन्जन गिरी, दिव्यदिप ज्योति इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल सेमान्ता सुवेदी, गैरसरकारी सस्था महासंघ काठमाडौका अध्यक्ष, सीजपका अध्यक्ष लगायतको आतिथ्यता रहेको थियो ।







