किशोरीलाई भारत लगेर बेचेको आरोपमा २८ वर्षपछि पक्राउ

भक्तपुर । करिब २८ वर्षअघि मनकामना मन्दिर घुमाउने बहानामा १७ वर्षीया किशोरीलाई भारत पुर्याइ बेचेको आरोपमा ५५ वर्षिय कमल खतिवडा पक्राउ परेका छन्।
 
२०५४ साल मंसिरमा सांकेतिक पहिचान भक्तपुर–२७ (छ८६)  भएकी किसोरीलाई त्यतिबेला ललितपुरको बालकुमारीमा बस्दै आएका ताप्लेजुङ जिल्लाको साविक थुम्बेदिन गाउँ विकास समिति वडा नं. २ (हाल पाथिभरा याङवरक गाउँपालिका) स्थायी घर भएका खतिवडाले भारत पुर्याई बेचेको जाहेरी परेको थियो ।
 
१७ वर्षीया किशोरीलाई गोरखाको मनकामना मन्दिर घुम्न जाने प्रलोभन देखाई खतिवडाले भारत पुर्‍याई जिउ मास्ने बेच्ने कार्यमा संलग्न गराएको प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक सुभेष अधिकारीले जनाए अनुसार बेचेको ठाउँबाट भागेर आउन सफल ती किसोरीले माइती नेपालको सहायताले जाहेरी दिएकी थिइन् । तर, अभियुक्त फरार रहेकाले मुद्दा अघि बढ्न सकेको थिएन ।
 
२८ वर्षदेखि फरार रहेका खतिवडालाई बिहीबार झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नं. १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। ब्यापार ब्यवसाय गरेर बसिरहेको अवस्थामा खतिवडालाई स्थानीय प्रहरीसंग समन्वय गरी पक्राउ गरिएको बताइएको छ ।
 
जिल्ला अदालत भक्तपुरबाट ५ दिनको म्याद लिई खतिवडामाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुभेष अधिकारीले जानकारी दिएका छन् ।
 
जीउ मास्नेबेच्ने गम्भीर अपराधमा संलग्न भई लामो समयदेखि फरार रहेका अभियुक्त पक्राउ पर्नु पीडितका लागि न्यायतर्फको महत्वपूर्ण कदम भएको जिल्ला प्रहरी परिसरको जिकिर छ । 
 
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन-२०६४ जारी हुनु अघिकै जाहेरी भएकोले प्रहरीले पुरानै कानुन अनुसार मुद्दा चलाउने तयारी गरेको बुझिएको छ ।