काठमाडौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नेताहरूले नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग बिदाइ भेटवार्ता गरेका छन्।
पार्टी सचिव प्रेम सुवालको नेतृत्वमा रहेको टोलीमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ सहभागी थिए।
चिनियाँ दूतावासको आयोजनामा सम्पन्न शिष्टाचार भेटवार्तामा नेपाल–चीनबीचको द्विपक्षीय हित, आपसी चासो र सम्बन्ध थप सुदृढीकरणका विषयमा विचार–विमर्श भएको नेमकिपाका सहभागी एक नेताले जानकारी दिए।
भेटका क्रममा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत सोङलाई पार्टीका तर्फबाट बधाई दिइएको थियो। साथै, आगामी दिनमा नेपाल–चीन सम्बन्ध अझ प्रगाढ र बलियो बन्दै जाने विश्वास नेमकिपा नेताहरूले व्यक्त गरेका थिए ।
नेमकिपाले मित्रराष्ट्र चीनसँगको ऐतिहासिक सम्बन्ध आपसी सम्मान, समानता र सहकार्यको आधारमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गर्दै जनस्तरसम्मको मित्रता विस्तारमा जोड दिएको छ।
सो अवसरमा राजदूत सोङले नेमकिपालाई जनताको पार्टीको रुपमा पाएको भन्दै प्रशंसा गरेका थिए । नेमकिपा चिनियाँ कम्युनिस्ट पार्टीलाई मित्रशक्ति मान्ने पार्टी हो ।






