भक्तपुरका ३५ हजार बढी बालबालिकाको नि:शुल्क मुटु जाँच गरिने

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि चार दिनसम्म निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ।

यहीँ पुस ८, ९, १० र ११ गते शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिनेछ।

मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरूको सहभागितामा शिविर सञ्चालन हुने नगर प्रमुख सुनिल प्रजापतिले जनाएका छन् । सो विषयमा विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण गरिसकिएको उनले बताए ।

भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले दिएको जानकारी अनुसार शिविरमा नगरभित्रका करिब ३५ हजार ८ सय ८० विद्यार्थीको मुटु जाँच गरिनेछ । 

नगर शिक्षा शाखा प्रमुख साधुराम फुयालले शिक्षा र स्वास्थ्य एकअर्कासँग गहिरो रूपमा जोडिएका विषय भएको उल्लेख गर्दै बालबालिकाको मुटु परीक्षणले सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

चीनको खुनमिङ चिकित्सा विश्वविद्यालयमा जनस्वास्थ्य विषय अध्ययनरत कृष्ण गरुले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै मुटु परीक्षणका क्रममा गम्भीर समस्या देखिएका विद्यार्थीलाई निःशुल्क उपचारको व्यवस्था गरिने जानकारी दिए।

यो शिविरले हजारौँ विद्यार्थीको स्वास्थ्य अवस्था समयमै पहिचान गर्न मद्दत पुग्ने र भविष्यका स्वास्थ्य जोखिम कम गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।