भक्तपुरमा सर्वाधिक प्रतिस्पर्धी रहेको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

Sports Bhaktapur municipality

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।

शहीद स्मृति खेलमैदानमा बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले प्रतियोगिता उद्घाटन गरेका छन् ।

Narayanman Bijukchhe
Narayanman Bijukchhe

नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रयबाट सुरु भएको हजारौं विद्यार्थी सम्मिलित र्याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क, जनज्योति पुस्तकालय परिसर हुँदै सहिदस्मृति खेलमैदानमा पुगेपछि सभामा परिणत भएको थियो ।

उद्घाटन समारोहमा खेलाडीहरुले जिम्नास्टिक प्रस्तुत गरे भने आस्था सांस्कृतिक समूह र गणेश मावि भार्वाचोका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले खेलकुद शिक्षासँगै चरित्र निर्माणको माध्यम भएको बताउँदै नयाँ पुस्तालाई अनुशासन, कर्तव्यबोध र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने यसले मद्दत गर्ने बिश्वास व्यक्त गरे ।

जेनजी आन्दोलनको क्रममा गत भदौ २३ र २४ गते देशभर विध्वंस भएको भन्दै उनले नयाँ पुस्तालाई राजनीतिक रुपमा संगठित पार्न नसक्दा समाजले ठूलो मूल्य चुकाउनु परेको टिप्पणी गरे ।

सो अवसरमा बिशेष अतिथि रहेका बागमती प्रदेशसभा सदस्य एवं नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाइँले बालबालिकाको शारीरिक, मानसिक एवं रचनात्मक विकासका लागि नगरपालिकाले नियमितरुपले प्रतियोगिता सञ्चालन गर्दै आएकोमा सन्तोष व्यक्त गरेका थिए ।

नगर प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई रुचिअनुसारको खेलमा सहभागी गराउने, प्रतिभा उजागर गर्ने र अनुशासित नागरिक तयार गर्ने उद्देश्यले नगरपालिकाले हरेक वर्ष खेलकुदलाई राष्ट्रिय अभियानजस्तै अघि सारेको स्पष्ट पारे । “भक्तपुरमा खेलकुदको उत्सव शुरु भएको छ”, उनले भने ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विद्यार्थीको अन्तरनिहित क्षमता बाहिर ल्याउने प्रतियोगिता महत्वपूर्ण रहेको बताए ।

यस वर्षको प्रतियोगितामा ८० विद्यालयका ३ हजार २ सय ९१ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेका खेलकुद समितिका संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले जनाएका छन् ।
प्रतियोगितामा भलिबल, फुटबल, टेबलटेनिस, कबड्डी, खो–खो, एथ्लेटिक्स, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, जिम्नास्टिक, बुद्धिचाल, बाघचाल, पोर्टबल र कसिमला पाँयजस्ता १५ खेल विधामा प्रतिस्पर्धा भइरहेको खत्रीले बताए ।

१० वटै वडामा यो महिनाभरी सञ्चालन हुने यो प्रतियोगिता सर्वाधिक सहभागी, सर्वाधिक खेल संख्या तथा व्यवस्थित संयोजन र नियमितताका कारण लोकप्रिय रहेको छ ।